अचेल धेरै साथीको गुनासो हुन्छ– किन हो मलाई त पढ्नै मन लाग्दैन ? म त परीक्षा आएपछि मात्रै पढ्ने हो । अब त पढ्छु भन्यो, दिमागमा बसे पो ! धेरैको मनमा यस्तै कुराहरू खेलिरहेको हुन्छ । मनोवैज्ञानिकहरूले यसो हुनुका केही कारण पत्ता लगाएका छन् । ती कारण बुझेर अघि बढ्न सके पढाई झर्कोलाग्दो हुँदैन । परीक्षामा हाउगुजी बन्दैन । पढ्न मन लगाउने १० मुख्य उपाय यस्ता छन्–
१. केन्द्रित हुने : हामी जुन विषय पढिरहेका हुुन्छाँै, त्यसमै केन्द्रित हुनुपर्छ । गणितका समस्या समाधान गरिरहेका बेला मनमा अंग्रेजीको कुरा खेलाउनुहुन्न । नेपालीको समयमा गणित या विज्ञानको चिन्ता लिनुभएन । एक पटक या एकै समयमा धेरै विषयलाई मनमा स्थान दिनुहुन्न । जे पढिरहेको हो त्यसैमा मात्र केन्द्रित हुनु पर्छ ।
२. पकड राख्ने : कुनै विषयमा पकड कमजोर छ भने त्यो विषयमा अझ धेरै ध्यान दिनुपर्छ । हामी त्यो विषय पढ्न बढी रुचाउँछौँ जुन राम्ररी आउँछ । पकड भएको विषय राम्ररी बुझ्न सक्छौँ । त्यसमा अंक पनि राम्रै आएको हुन्छ । आफूले रुचाएको विषय पढ्दा समय बितेको पत्तै हुन्न । त्यसैले कमजोर विषयमा आफ्नो पकड बढाउने प्रयास गर्नुपर्छ ।
३. रुचि बढाउने : कुनै विषयमा रुचि छैन भने त्यसमा रुचि जगाउनुपर्छ । रुचि नभएको विषयमा रुचि बढाउन ४–५ दिन नियमपूर्वक लगातार अभ्यास गर्नुपर्छ । सुरु–सुरुमा यसो गर्दा दिक्क लाग्न सक्छ । तर त्यो अवधिभरिमा थोरै मात्र रुचि बढ्यो भने त्यो पहिले नरुचाएको विषय पनि रुचिकर लाग्न सक्छ ।
४. सीमित किताब : पढ्ने टेबल, खाट या भुइँमा सबै विषयको पुस्तक छरपष्ट राख्नु हुँदैन । जुन विषय पढ्ने हो त्यो मात्रै राख्नुपर्छ । बाँकी र्याक या झोलामै रहन दिनुपर्छ । सबै विषयका धेरै किताब छेउमै छ भने यो पढौं कि त्यो भन्ने लाग्न सक्छ । गृहकार्य गर्दा पनि सम्बन्धित विषयलाई मात्रै आफ्नो टेबलमा राख्नुपर्छ । एउटा सकिनेबित्तिकै अर्को निकाल्नुपर्छ । पढ्ने कोठा अस्तव्यस्त बनाउनुहुन्न ।
५. निश्चित समय : पढ्ने निश्चित समय हुनुपर्छ । जुनसुकै किताब जुनसुकै झोला या र्याकबाट निकालेर पढ्ने बानी खासै प्रभावकारी होइन । यसले एकाग्र हुन सकिन्न । पढाइको एउटा निश्चित क्रम हुनुपर्छ । बरु यसका लागि एउटा टाइम– टेबल बनाउन सकिन्छ । त्यसैका आधारमा पढे पढाइ नियमित हुन सक्छ ।
६. लक्ष्य निर्धारण : निश्चित लक्ष्यबिनाको पढाइ पनि बोझिलो हुन सक्छ । लक्ष्य नै निर्धारित छैन भने गन्तव्यमा कसरी पुग्न सकिन्छ ? कुन विषय पढ्ने अनि त्यो पढेर के बन्ने भन्ने निर्धारण गर्न नसक्नाले पनि पढाइमा रुचि नलागेको हुन सक्छ । त्यसैले पढ्नुअघि लक्ष्य विचार गर्नु महत्त्वपूर्ण छ।
७. सञ्चारका प्रविधि : अहिलेको डिजिटल युगमा हरेक समय हामी मोबाइल फोन, ट्याबलेट, ल्यापटप लगायतले घेरिएका हुन्छाँै । यीमध्ये खासगरी मोबाइल फोनले हाम्रो ध्यानलाई अन्यत्र मोडिदिन्छ । फोनमा कुनै कुरा नआए पनि छिटोछिटो हेर्न मन लाग्छ । फेसबुकमा साथीसँग च्याट गर्न मन लाग्छ । मोबाइल गेम खेल्न मन हुन्छ । यी सबैले पढाइलाई चौपट पार्छन् । त्यसैले पढ्ने बेला यी उपकरणबाट टाढै बस्नुपर्छ । सम्भव भए फोन अफ गरिदिनुपर्छ ।
८. साथीसंगत : साथीको सही कुरालाई समर्थन गर्नुपर्छ । गलतलाई ‘नाइँ’ भन्न सक्नुपर्छ । पढाइमा रुचि राख्नेलाई साथी बनाउनुपर्छ । गलत गतिविधिमा लागेकासँग टाढै बस्नुपर्छ । यदि यसो नगरिए दौतरीको दबाबमा गलत क्रियाकलापमा पनि लाग्न सकिन्छ । अनि स्वत: पढाइको स्तर खस्किन्छ ।
९. प्रेरणा : प्रेरणाले हामीलाई सफलताका लागि नयाँ ऊर्जा प्रदान गर्छ । हाम्रा वरपर संघर्ष गरेर सफल भएका मानिस प्रशस्तै भेटिन्छन् । तिनीहरूबारे थाहा पाउँदा हामीलाई प्रेरणा प्राप्त हुन सक्छ । आफ्नै अभिभावकका संघर्षका कुरालाई पनि शिक्षाका रूपमा लिन सकिन्छ । सफल व्यक्तिका जीवनी पढ्नुपर्छ ।
१०. खास रुचि : जुन विषयमा आफ्नो ज्यादा रुचि छ, हामी त्यसैतर्फ बढी अग्रसर हुनुपर्छ । सिर्जनात्मक क्षेत्रमा रुचि छ भने त्यसलाई पढाइसँग जोडेर अघि बढ्नुपर्छ । आफ्नो रचनात्मकतालाई पढाइको विषयमा पनि लागू गर्न सकिन्छ । कलामा रुचि छ भने चित्र बनाएर पढ्न सकिन्छ । नृत्यमा रुचि छ भने नाच्दै कठिन पाठ सम्झन सकिन्छ । पढाइसँगै अन्य रुचिकर विषयलाई पनि अगाडि बढाउन सकिए झनै राम्रो हुन्छ ।
-:साभार-कान्तिपुर दैनिक