Showing posts with label साहित्य. Show all posts
Showing posts with label साहित्य. Show all posts

आजकालका कामरेडहरु पलेटी मार्दैनन्


🌹🌹🌹🌹मेस्सी प्रेक्सन्🌹🌹🌹🌹

दिनलाई छोडौं,
दिनलाई ढाँट्न त गार्हो नहोला पनि,
दिनमा होहल्ला हुन्छ,
झुटहरु एकापसमा ठोक्किन्छन्,
तर रात,
रात त सबैको लागि उत्तिकै सुनसान हुँदो हो
के देख्छन् होला सपना ?
को को आउँदा होलान् ?
विगतले ऐनाहरू बोकेर
तर्साउन खोज्दा
रुँदाहुन् कि भाग्दाहुन् कामरेडहरु ?

निशाको निष्पट्टतामै पनि त
कहाँ सजिलै ढाकिन्छ र सबथोक !
छिप्पिँदै गरेको रातमा
एकपछि अर्को गर्दै
तुहिएका सपनाहरूको बोझले थिचिएका
एकादेशका इमान्दार छातीहरुले
आफैंलाई सम्हाल्न नसकेको बोध पनि
कहीँ न कहीँ त हुँदो हो !

राता कार्पेटमाथि हिँडेकै बेला
बंकरहरुको गाउँमा
प्रसव पीडामा छट्पटिँदै
आमाहरु मरेको
पढ्छन् कि पढ्दैनन् होला ?
अनि फेरि कहिल्यै नफर्किने
आफ्नो एकबारको जुनी
खेर गएको ठान्छन् कि ठान्दैनन् होला ?
कि सौदा गर्छन् होला नास्तिकहरु
बुर्जुवा ईश्वरसँग
पुनःजन्मका लागि ?
बस् यो जान्न मन छ मलाई
कि हामी धेरैलाई जस्तै
पीडा हुन्छ कि हुँदैन होला कामरेडहरुलाई ?
सोध्छ कि सोध्दैन होला
बालापनले उनीहरूको अवचेतनलाई ?
अनि के जवाफ फर्काउछन् होला कामरेडहरु
विदेशीएका "भगौडाहरुलाई"
विधवा "बोक्सीहरुलाई" !

मलाई थोरै मात्र सोध्न मन छ
कामरेडहरुसँग,
पलेटी मारेर बस्न आउँछ कि आउँदैन ?
गुन्द्रुक रुच्छ कि रुच्दैन ?
इच्छुकका इच्छा
अनि टुहुरेका धुनहरु सुन्दा
झ्याउ लाग्छ कि लाग्दैन ?
गरिखाने किसानको पसिनाको गन्धले
वाकवाकी लाग्छ कि लाग्दैन ?
मलाई आज यत्ति जान्न मन छ !

गजल



तिमीले छिद्रा नपारेको भए निष्ठुरी बनेर।
यो बाँस बज्ने थिएन अाज मुरली बनेर।

छातीभरि बालुवा  थुपारेर फर्किएछन्,
जो अाएका थिए बगाउँछु भन्दै बाढी बनेर।

तिम्रो हेराइले लाग्यो -केही त  छ मभित्र,
अाफैलाई हेर्ने मन भयो एकपटक तिमी बनेर।

तिमी अाए थ्यौ मुहारमा पिम्पल अाएजस्तो,
बेइमान सम्झना अाइदियो जुँगारेखी बनेर।

कोसेलीमा जरुर जून तारा त ल्याउनु भयो ,
दिन हुनुहुन्थ्यो तर अाउनुभयो राति बनेर।

© कृष्णप्रसाद अर्याल

प्रदिप दाइ यो गजल हो कि आगो🔥🔥??



प्रदिप दाइको यो गजल हो कि आगो🔥🔥??

काख रित्तिएकी आमा रोइरहन्छिन पिर लिएर!
सरकार सालिक खोज्दै हिँड्छ अबिर लिएर!

सिँढी छेउमा बा भोको पेट छाम्दै बसिरहेछन्,
छोरो त्यही बाटो मन्दिर छिर्यो खिर लिएर!

फर्किँदा दुष्मनको पाइजामा बोकेर आयो,
जाने बेलामा आउँछु भन्थ्यो काटेको शिर लिएर

मेरै प्रेमिका लिएर मुस्कुराउँदै हिँडेको ,
रुँदै हिँडेको छु उनको पुरानो तस्बिर लिएर!

अरुको कृपामा बाँच्नुपरेको छैन तिमीले झैँ,
कमसेकम बाँचेको छु आफ्नै तक्दिर लिएर!


प्रदीप रोदन

ग़ज़ल—शहिद दिवस



सहिदको बलिदानको उपहास नहोस्
आन्दोलनको उपलब्धि जुवातास नहोस्

गरिब-धनी बीचको खाडल गहिरिंदै छ अझै
समानताको नारा केबल बकबास नहोस्

थामिएनन् असहायका आंखाबाट बग्न आंसु
बिपन्नलाइ भोको नाङ्गो आभास नहोस्

आधुनिकताको नाउँमा भित्रिंदैछ छाडापन
आफ्नै रीति संस्कृतिको बिनास नहोस्

विकास र समृद्धि तर्फ बढ्नु पर्छ सरकार
केहि गर्न नसक्ने जिउँदो लास नहोस्

—मुकुन्द पौडेल

शेखर अस्तित्वको कबिता


......................

मेरो अगाडि भविष्य छ
तर मलाई त्यो भविष्य संवारने अधिकार छैन
मेरा आँखामा स्वप्नहरु छन्
तर मलाई यि स्वप्नहरु साकार गर्ने अनुमति छैन
अन्यौलको भुमरीमा बाँचिरहेको छ मेरो जीवन

मेरै मनभित्र
सुरक्षित नभएका
मेरा रहरहरु जस्तै
म पनि सुरक्षित छैन
यो संसारमा
यो देशमा
यो गाउँमा
यो समाजमा
आफ्नै डाँडा पाखामा
आफ्नै खेत बारीमा
यहाँ सम्म कि
आफ्नै घर आँगनमा पनि
सुरक्षित छैन म

वासनाको अँध्यारो गहिरो इनारमा
सम्बन्धहरुले हाम्फालेर
सामूहिक आत्महत्या गरिसकेको
यो अभागी समयमा
खेतले आफ्नै बाली खाइरहेका छन्

आफन्तहरुकै गिध्द दृष्टिबाट
आफूलाई जोगाउनुभन्दा त
बरु तिम्रो गर्भमा हुँदा नै
तुहिएको भए
राम्रो हुन्थ्यो कि आमा ?

- शेखर "अस्तित्व"

गजल

:- D Chiran jivi


भाग्यले पनि बडाे अचम्मसँग परीक्षा लिन्छ,
इनारमा खसाल्छ, डाेरी भनेर सर्प झारिदिन्छ !!

यी अाँखाहरू किन अगाडि बनाइएका हाेलान् ?
जब कि छुरा मान्छेको पछाडिबाट राेपिन्छ !!

चित्रजस्तै छर्लङ्ग गरी चरित्र देखिने भए
के के गर्थ्याे हाेला मान्छे ? जाे ऐनाअगाडि उभिन्छ !

त्याे मान्छे भगवानलाई धूप लिन गएकाे हाे
हेर है, बास्नाचाहिँ अाफैलाई मनपर्ने किन्छ !

कसरी गर्न सकेहाेलान्, त्यस्तो अद्भुत प्रेम
जल्न धागाे जल्छ, तर मैनबत्ती पग्लिन्छ !!

जिन्दगीको मजा गहिराइमै बढी भेटियाे
बुबा भन्नुहुन्थ्यो - गधा ! गहिराेमा नजा, डुबिन्छ !


@ पुनर्पाेस्टित 😉

टक गुरुगंका गजल





तारा झुप्रो बाट त  थोप्लो जत्रै देखिन्छ
दरबार बाट हेर्दा भन्नुस् भिन्दै  देखिन्छ ?

सम्बन्ध अझै उस्तै छ वरपिपल बिचमा
कि बाध्यताले गर्दा मात्रै संगै देखिन्छ

साँचो जीवन त्यै दिन अन्त्य भएको हो जुन दिन
खेलौना खेलौना जस्तै साँच्चै देखिन्छ

म शहर फन्की फर्कें निराश उसले जाँ को त्यैं
दौडेर थ्रेड मिलमा टुम भेटेकै देखिन्छ

मुर्दाको मुख टालिस् टक के राज छुपाउन हो
सबको पारा यस्तै झण्डै झण्डै देखिन्छ

रुपसी का कबिता



गाउँ पछ्याएको लामो दुरीको यात्रा
सकिए झैँ लाग्यो वा सकियो?
गाउँ, गाउँ छोडेर सहर पुग्न तोकिएको मूल्य
छिरेपछि राजधानीको अग्लो आकाशे पुलमुनि

छुटे लामो यात्राका एक हुल बेदिल शहरहरू
पुलमुनिबाटै लस्करका लस्कर ऐना बोकेर
खै! कति थियो तिनीहरूको यात्राको मूल्य!

स्वखलित लिङ्ग जस्तो
ठिक उँधो मुन्टो झुन्डिँदा घण्टा घरको मोटो सुई
उही घण्टा सुईले लखेटेको अँध्यारो साँझले
पुलमाथि उक्लेर नियाली रहेको छ
राता लिपिस्टिकहरूको चमक,
बढिरहेको अँध्यारोले नापिरहेको छ
कालो टाइट पाइन्टहरूको चञ्चले आकार।

कलंकी पनि नजाने यात्रुहरू
न जान चाहान्छन् चावाहिल र बसुन्धारा
केवल छिप्पीरहेको कालो रातको मूल्य घटबढ गरिरहन्छन्
पुलमुनि ओहोर दोहोर गर्दै।

यो राधानीको आकाशे पुल
आफैमाथि खप्टिएको रातको मूल्यमा ल्याप्चे लगाउँछ
खोजी-खोजी मेडिकलमा फेल भएको कागज
खण्ड-खण्ड हिसाब लगाएर टुक्राउन चाहान्छ
अखण्ड नेपाल जिन्दावाद लेखिएको नारातिर फर्केर
एक घण्टा रात- तीन सय
चार घण्टा रात- आठ सय
पूरै आठ घण्टा रातलाई चार हजारमा बेच्न चाहान्छ
तर,
 किन्न चाहनेले पूरै मूल्य तिरेर पनि
हेरिरहेछ एकनास बेच्ने वालाले मुहार।

बेच्नेहरू किन सीमा काट्दा हुन्?
बेचिन काफी छ
राजधानी कै अग्लो आकाशे पुल।

यहाँ हरेक रातहरू बिक्रीमा रहेछन्
हरेक रातहरूको मूल्य तोकिएको रहेछ
हुन त
मंसिरका मण्डपे रातहरू पनि त दाइजोमा बेचिएको छ
मंसिरे कान्छी रातहरूमा
तोकिएको छ कार,बाइक, दराज र सुन-चाँदी
फरक
दाइजोमा कण्डम नदिइँदो रहेछ
यो पुल महँगो रातहरूको मूल्य तिरेपछि
किनिरहेछ मेरो गाउँमा सित्तैमा पाइने कण्डम।

रूपसी

लघुकथा-‘अन्य’

लघुकथा- 'अन्य'


एउटा राजनैतिक पार्टीको केन्द्रिय कार्यालय बल्खुमा समानुपातिक तर्फको सांसद छनौटका लागि प्रत्याशी र समर्थक पार्टीजनहरूको भीड उर्लेको थियो । हल खचाखच भरिएको थियो | सबैलाई नेताज्युहरूको प्रतीक्षा थियो | अन्ततः हलसँगै जोडिएको सचिवालय कोठाबाट सचिव र दुई नेता  महोदय बाहिर निस्कनु भयो | सचिवले सबैलाई शान्त भई बस्न आग्रह गर्नु भयो | वातावरण शान्त भयो र सचिवले भीडलाई  सम्बोधन गर्दै भने -आदर्णिय मित्रहरु ! समानुपातिक तर्फको नाम छनौट भइसकेको छ । अब जजसको नाम लिइन्छ यहीं बस्नु होला अन्य बाहिर गइ दिनु होला । धन्यबाद ।

सेतै फुलेका पार्टीका दुब्ला पात्ला एकजना वरिष्ट नेताले आफ्नो खल्तीबाट एउटा लिस्ट निकाल्नु भयो र नाम पढन थाल्नु भयो।

केहि बेर पछि भादगाउँले टोपीलगाएका अलिक मोटा मोटा पार्टीका अर्का वरिष्ट नेताले  पनि आफ्नो खल्तीबाट एउटा लिस्ट निकाल्नु भयो र नाम पढन थाल्नु भयो ।

सेतै फुलेका नेताका मान्छे र भादगाउँले टोपीलगाएका नेताका मान्छे त्यहीं बसीरहे र 'अन्य'मा परेका पार्टीका मान्छे क्रमश: कार्यालयबाट बाहिर निस्कन थाले ।

ती ‘अन्य’मा परेका मान्छे प्रजातन्त्रका असल शक्ति अर्थात भोटर थिए |

गजल

जे गरे 'नि राष्ट्रवादी हुन्छन् कुनै मान्छे
योग्य देशभक्त मात्र चुन्छन् कुनै मान्छे

"मास अनि भटमास "हुने अरे एक
यस्तो सुनी रुखमुनि रुन्छन् कुनै मान्छे

भब्य पूजा "जानकीको "हुने अरे "राम "
अभिनन्दन गर्न माला उन्छन् कुनै मान्छे

"नमो नमो "हुनथाल्यो दशगजातिर
मन्त्र यही मात्र किन सुन्छन् कुनै मान्छे

छिमेकीको लालाबाला अति तिर्खाउदा
मूलपानी धारो सबै थुन्छन् कुनै मान्छे

:-धनराज गिरी



दुबईमा दुखेको मेरो देश

"दुबईमा दुखेकाे मेराे देश"
=-=-=-=-=-=-=-=-=-=-=
(कथा:-अबिरल यात्री)
     

 डिसेम्बरकाे एक चिसाे बिहान, तलतिर खसेकाे १ बुँद शीतले गाडीको सीसालाई दुइ किनाराझैँ छुट्याइदियाे ।

    मैले बडाे रहरले "स्प्लास"मा किनेको सेतो जिन्स लगाएँ । सेताे रङकाे टिसर्टमाथि माेदिकाेट, इदमा "अरबाब"ले उपहार दिएका एडिडासका जुत्ता अनि शिरमा नेपालबाट निकै चाखले ल्याएकाे ढाकाटाेपी लगाएँ ।

    मलाई दुबई, "अल सइफ" मैदान पुग्नु थियाे, जहाँ युएईकाे राष्ट्रिय दिवसकाे अवसरमा भव्य सांस्कृतिक तथा परेड कार्यक्रमकाे अायाेजना गरिएको थियाे ।

    फुजेराबाट बिहानै निस्केँ । परिवारबाट टाढा भएकाे मलाई बिगत चार वर्षदेखि अाफ्नाे काखमा राखेर यात्राकाे अानन्द दिने मेरी जीवनसङ्गिनी थिइन् - जापानकाे प्रख्यात "निशान" वंशमा जन्मिएकी सुन्दरी "श्रीमती अल्टिमा शर्मा" ।

   मेराे गाडीको याे नाम स्याङ्जाली मित्र डी चिरञ्जीवीले राखिदिएका थिए । अष्ट्रेलिया पढ्न जाने सपना पूरा नभएपछि खाडीमा किस्मतकाे जाँताे घुमाइरहेका, पूर्वीय दर्शन र साहित्यका अनुरागी यी साथी निकै रसिक र व्यङ्ग्यचेतका हुनाले मलाई खूब मनपर्छन्, अतः उनलाई पनि लिएर कार्यक्रममा जाने मेराे रहर थियाे ।

युएईकाे चट्टाने पहाड फाेरेर जापान सरकारकाे प्राविधिक सहयाेगमा बनाइएकाे ६ लेनकाे "शेख खलिफा फ्री वे" ले पूर्व पश्चिमका तटीय शहरहरू फुजेरा-दुबईलाई जाेडेकाे छ । कडा चट्टान फाेरेर बनाइएको याे विशाल बाटाेमा यात्रा गर्दा मलाई नेपालकाे बाटाेकाे सम्झनाले पिराेलीरह्याे । देश सम्झेर दुखेकाे मन लिएर १३० किमि प्रतिघन्टाकाे रफ्तारमा गाडी कुदाएर शारजाह पुगेँ, जहाँ मलाई चिरञ्जीवीले पर्खिरहेका थिए ।

उनीसँग भेट भएपछि मेराे यात्रा जहिले पनि निकै मीठाे हुन्छ । ड्राइभिङ उनले गर्ने रहर गरे। म दाहिने छेउमा बसेँ । उनले कालीदासकाे मेघदूतकाे मेघ बर्साएर मलाई भिजाए, मैले अरबी कवि "अाेउषा अल सुअाइदी" का लतिफा अनुवाद गरेर उनलाई सुनाएँ । कतै चिया पिउँदै, कतै पराैठा खाँदै हामी दुबई पुग्याैँ ।

"अल सइफ"काे मञ्च बेहुली झैँ सिँगारिएकाे थियाे । अघिल्लो लाइनमा सेताे कन्दुरामा सजिएका स्थानीय अरबी तथा उच्च पदस्थ अधिकारी सपरिवार उपस्थित थिए । त्यसपछि अार्मी, सशस्त्र प्रहरी, स्पेशल टास्क, प्रहरी लगायतका अधिकारीहरू बसेका थिए । अन्य विभिन्न देशका कुटनैतिक प्रतिनिधिहरू पनि उपस्थित थिए ।

एउटी रुपवती स्थानीय अरबीले स्वागत गरिन् - मरहबा निबाली हबिबि । अना मरियम अल खामिस । ! (स्वागतम् नेपाली अात्मीय ! मेराे नाम मरियम अल खामिस )

मैले सोधेँ- मस्घुर, मस्घुर । बिलाकिन इन्ती केफ मालूम नहन निबाली ? (आभार, आभार!! तर तिमीले कसरी थाहा पायाै ? हामी नेपाली भनेर)
उनले भनिन- " "अना सोगल दिप्लोमेती अफिसर सानातेन मा निबाल!" (म दुई वर्ष नेपालमा कुटनैतिक अधिकारी भएर काम गरेकी छु)।  तिम्रो टाेपीले सगरमाथा बाेकेकाे छ । ए हिउँकाे देशका मान्छे ! ए बुद्धकाे देशका मान्छे ! स्वागत छ ।"

उनकाे मुख दार्शनिककाे जस्ताे भयाे । मेराे टाेपी यति महत्त्वपूर्ण हाेला भनेर मैले कल्पनासम्म गरेकाे थिइनँ, अाज एउटी अरबी युवतीले मलाई मेराे देश चिनाइदिइन् । मेराे हृदय गर्वले भरिलाे भयाे ।

उनी डिप्लाेमेटिक अफिसर भएर पनि राष्ट्रिय दिवसकाे कार्यक्रममा साधारण स्वयंसेवी भएर काम गरिरहेकी, अागन्तुकलाई सम्मानपूर्वक स्वागत गरिरहेकी । देशप्रतिकाे उनकाे माया र सम्मानले मलाई नतमस्तक बनायाे ।

एकैछिनमा "दुबई १" लेखेकाे मर्सिडिज बेन्ज गाडी अाफैले हाँकेर दुबईका शासक तथा युएईका प्रधानमन्त्री एवं उपराष्ट्रपति शेख माेहम्मद बिन रासिद अाइपुगे । न गाडीहरुकाे लर्काे, न सुरक्षाकर्मीकाे कडा दस्ता । केवल साथमा अाफ्ना जेठा छाेरा युवराज "हमदान विन माेहम्मद"लाई लिएर अाएका । शिरमा घाेत्र, सेताे कन्दुरामाथि सुनाैलाे रङकाे लामाे अरबी काेट पहिरेका, दारी पालेका । निकै अाकर्षक तथा सर्वप्रिय राजा । सबैले उठेर स्वागत गरे । अगाडिको कुर्सीमा उनी बसे, छेउमा युवराज।

    निर्धारित समयमा राजा अाइपुगे, निर्धारित समयमा कार्यक्रम सुरू भयाे । "नेपाली समय" भनेर सबै कार्यक्रम २ घन्टापछि सुरु हुने वातावरणमा हुर्केको मलाई यहाँकाे याे परिपाटी देखेर निकै अचम्म लागिरहेको थियाे ।

बिना सुरक्षाकर्मी साधारण जनताजस्ताे भएर अाएका राजा र राजकुमार देखेर हाेला, चिरञ्जीवीले मरियमलाई साेधे -

"शेख रासिदकाे सेक्युरिटी प्राेटाेकल कस्ताे छ ?"

उनले भनिन् - "हाम्रा राजाकाे सेक्युरिटी प्राेटाेकल नै छैन किनकि उनले दुबईलाई यति सुरक्षित बनाएका छन् कि उनलाई सेक्युरिटी या प्राेटेक्सन नै चाहिँदैन । यहाँ दुबईमा कुनै पनि देशकाे राष्ट्राध्यक्ष, VVIP व्यक्ति बिना सुरक्षागार्ड हिँड्न सक्छ । हाम्रो राजाकाे माेबाइल नम्बर हामी जनताजति सबैलाई थाहा छ, अाफ्नाे समस्या हामी जुनसुकै बेला राजालाई सुनाउन सक्छाैँ । अनि उनकाे ढाेका हाम्राे लागि २४ घन्टा खुल्ला छ।"

अाफ्नाे देश र जनताप्रति शासकको याे जिम्मेवारी, देशकाे सुरक्षा अवस्थाप्रति राजा र सारा दुनियाँकाे यत्राे विश्वास, राजाप्रति जनताको सम्मान देखेर म छक्क परेँ ।
अनि कतै सवारी हुँदा २ घन्टा अघिदेखि एम्बुलेन्स समेत चल्न नदिई २/३०० कमान्डाेकाे सुरक्षामा हिँड्ने हाम्रा देशका नेताहरू सम्झेर अाफ्नाे देशकाे सरकार र सुरक्षा व्यवस्था प्रति घाेर वितृष्णा जाग्यो ।

केहीबेर पछि राजाकाे सम्बाेधन सुरु भयाे । उनले भने - "याे देशकाे समृद्धिमा रगत र पसिना सिञ्चित गर्ने सम्पूर्णप्रति अाभारी छु । अाज तपाईंहरु सबैकाे साथमा बसेर राष्ट्रिय दिवस मनाउन पाउँदा निकै अानन्दित भएको छु, धन्यवाद ।"

मुस्किलले ४० सेकेन्ड भाषण गरेर राजाले लामाे फलामे खम्बामा बाँधिएकाे डाेरी तानेर देशकाे झण्डा फहराए । तालीकाे अावाजले अाकाश गुञ्जायमान भयाे । शाही ब्याण्डले मेघकाे गडगडाहट जस्तै धून बजायाे ।

लगत्तै स्पिकरमा राष्ट्रिय गान बज्याे । हामी सबै सम्मानमा उठ्याैँ । "ईशी बिलादी अास इत्तिहाद - अल इमारात………!"
चिरञ्जीवीलाई कण्ठ रहेछ, मजाले गाए । देशभक्तिले अाेतप्राेत याे राष्ट्रिय गान गाउँदा अधिकांशका हातमा राेमाञ्चले काँडा उठेको देखियो । बितेका १२ वर्षदेखि खाडीमा बसेर कहिले कानुनी, कहिले साहित्यिक कहिले दाेभाषे भएर भाषिक अनुवाद गर्दै अरबी भाषामा पाेख्त भएको म अाफुले चाहिँ अरुले झैँ राष्ट्रिय गीत गाउन नसकेकोमा पछुतो भयाे ।

यहाँ, न कसैले कसैलाई खादा अाेढायाे, न कसैलाई अासनग्रहण, न भाषण तथा मन्तव्य, न स्वागतका लागि स्कुले बच्चालाई भाेकै घाममा उभ्याए । यहाँका शासक तथा मन्त्रीहरू काम गरेर देखाउने, बाेल्न फिटिक्क नचाहने स्वभावका रहेछन् । हाम्रा देशका भाषणप्रेमी कामचाेर नेताहरूलाई मैले एकपटक फेरि पनि धिक्कारेँ ।

यिनीहरू नबाेलेरै विकासकाे चरमचुलीमा पुगे, हाम्रा शासकहरू मुखैले मङ्गलग्रह पुग्छन् । यिनीहरू सन् २०३० सम्ममा हजाराैँ किलोमिटर परकाे अन्टार्कटिका महादेशबाट हिउँकाे पहाड युएई ल्याएर जनतालाई पिउने पानी दिने तयारीमा काम गरिरहेका छन् । हाम्रो भने छिमेकी जिल्लाकाे मेलम्ची झन्डै तीन दशकदेखि अल्झिरहेकाे छ । यिनीहरू ३ सिफ्टमा काम गरेर दूरदराजका गाउँमा पुग्ने सयाैँ किलोमिटर बाटाे १ महिनामा कालाेपत्रे गर्छन्, हाम्रो देशकाे राजधानीमै बाटाेमा खाडल भेटिन्छ ।

म यस्तै तुलनामा थिएँ, माइकबाट जानकारी अायाे - अब राष्ट्रिय दिवसकाे परेड सुरु हुँदैछ ।

     सुरुमा अार्मीले अाफ्नाे परेड देखायाे । त्यसपछि घाेडामा सवार भएर सशस्त्र प्रहरी अायाे । त्यसपछि निकै ठूलाे र लामाे राष्ट्रिय झण्डा बाेकर प्रहरीकाे एक दस्ता अगाडि बढ्याे । लगत्तै हातमा अत्याधुनिक हतियार लिएर मार्चपास गरिरहेका महिला प्रहरीहरूकाे समूह देखा पर्याे । त्यसपछि एम्बुलेन्सहरूकाे ताँती देखियाे । त्यसपछि दमकल लगायतका सिभिल डिफेन्सका वाहनहरू देखा परे । त्यसपछि फेरारी, ल्याम्बाेर्गिनी जस्ता अति महङ्गा प्रहरीका गाडीहरूकाे ताँती देखापर्याे । काेहि घाेडामा काेही उँटमा काेही पैदल, कतै हातमा तलबार, कतै झन्डा, कतै देशकाे सम्मानमा लेखिएका व्यानर, कतै पम्प्लेट । काेही महिला-पुरुषहरू राष्ट्रिय पाेसाकमा, बच्चाहरू अार्मीकाे "कम्ब्याट" ड्रेसमा । हजाराैँ महङ्गा कारहरूमा कतै देशकाे झण्डा, कतै दुबईका राजाकाे तस्वीर, कतै अबुधाबी शेखकाे फाेटाे, कतै राष्ट्रपिता शेख जाएदकाे भव्य तस्वीर !  विभिन्न देशका सांस्कृतिक समूहकाे कला प्रदर्शनी । निकै अपूर्व झाँकीसहितकाे परेड कार्यक्रम भयाे ।

सेनाहरूकाे परेड देख्नासाथ गर्वले छाति फुलाएर उनले भनिन् - मेराे अाखु(भाइ) अार्मीमा थियाे, देशकाे लागि लड्दादड्दै यमनमा शहीद भयाे । अल्लाहले उसलाई जन्नतमा सबैभन्दा अग्लाे दर्जा दिउन् । तर हाम्राे परिवारमा भाइ शहीद भएकाे दुखभन्दा देशकाे लागि कुर्बान भएकाेमा गर्व धेरै छ । भाइकाे शरीर राष्ट्रिय झण्डामा बेरिएर घरमा अाएकाे दिन राजा स्वयं हाम्राे घरमा अाएका थिए । उसलाई दफन गर्ने बेला शाही टुकडीले अन्तिम सलामी दिएकाे थियाे । कसैकाे अन्त्य हाेस् त मेराे भाइकाे जस्ताे हाेस् ।

उसकाे कुराले मेराे हृदय हल्लाइदियाे । मलाई "हत्वा वा प्राप्स्यसे स्वर्गं जीत्वा वा भाेक्ष्यसे महीम्" भन्ने गीताकाे वचन याद अायाे । बडाे मुस्किलले गह्रुङ्गाे हृदय लिएर सुनिरहेँ । अरबी हृदयमा राष्ट्रियताकाे दियाे यसरी जग्मगाएकाे रहेछ ।

याे युएईकाे ४७ अाैँ राष्ट्रिय दिवस थियाे । निकै लामाे विश्व इतिहासमा युएईले भने भखर अाफ्नाे ४७अाैँ दिवस किन मनाएकाे हाेला ? भन्ने खुलदुली लागेर मैले मरियमलाई साेधेँ - तिमीहरूकाे इतिहास जम्मा ४७ वर्षको हाे ? त्यसभन्दा अगाडिकाे जीवन, देश कस्ताे थियाे ? किन शेख जाएदलाई यति धेरै सम्मान ?


उसले गर्विलाे उत्तर दिइ -

    त्यसभन्दा अगाडि हामी टुक्राटुक्रा थियाैँ । ७ राज्यकाे बिचमा लडाइँ चल्थ्याे । पहाडकाे बीचमा भएको हुनाले रस अल खेमा राज्य निकै शक्तिशाली थियाे । एकअापसमा लडेर शक्ति खर्चनुभन्दा मिलेर गरिबी, असमृद्धिकाे विरुद्धमा लड्दा देश उन्नत हुने ठानी सन् १९७१मा अबुधाबीका तत्कालीन राजाले ७ वटै अमीरात(इमिरेट्स) का राजाहरू बाेलाई राज्यमा राजतन्त्रात्मक र केन्द्रमा राष्ट्रपति रहने खालकाे गणतन्त्रात्मक सरकारकाे स्थापना गर्ने निर्णय गरी एउटै झण्डामुनि अलगअलग ७ राज्यलाई जाेड्ने काम गरे । अहिले हाम्रो देशमा केन्द्रीय सरकार र सर्वमान्य कानुन छ । टुक्रिएर राज्य चलाउँदा देशकाे अस्तित्व हुँदैन । त्यसैले सबै देशबासी र राज्यलाई एकताकाे मालामा उन्ने हाम्रा राजा जाएदलाई हामी निकै सम्मान गरेर राष्ट्रपिता भन्छाैँ । हेर !  अाज हाम्रा शेख जाएदले जाेडेकाे याे देशका शतप्रतिशत जनताहरू कराेडपति छन् । कुनै समय अन्न नउब्जिने मरुभूमि भनेर चिनिएकाे याे भूभागले अाज लाखाैँ विदेशीकाे घरमा चुह्लाे बालेकाे छ । हाम्रो देशमा कुनै पनि स्थानीय नागरिक (मुवातन) गरिब छैन, हामी सबै समृद्ध छाैँ । यसकाे श्रेय शेख जाएदलाई नै जान्छ ।

उनका शब्द सुन्दा मलाई राष्ट्रनिर्माता खण्डकाव्यमा पृथ्वीनारायण शाह बाेलेजस्ताे भान भयाे -

खेलेर ऐरा मृग एक मारी !
बाँडी कलेजाे जति छन् शिकारी !
बिलाे लिएझैँ शरमा उनेर
याे राज्य बाँड्ने चिज हाेइन हेर !

थुतिन्छ पत्ता जब खातखात………
सिद्धिन्छ शाेभा अनि फूलबाट ……

  टुक्रिएकाे देश जाेड्ने दुई महान् विभूति पृथ्वीनारायण शाह र शेख जाएद! मनमनै शतशत नमन गरेँ । मरियमका शब्दमा देश बाेल्थ्याे । अाँखामा देशभक्ति नाच्दथ्याे।

यसैबीचमा निकै माथिबाट उडेकाे हवाइजहाजबाट प्यारासुट लिएर केही साहसीहरू हामफालेकाे देखियाे । अलिकति तल अाएपछि उनीहरूकाे प्यारासुट खुल्याे । उनीहरूले प्यारासुटमा युएईकाे झण्डा बाेकेका थिए । सामुहिक रूपमा देखाइएको यस कला निकै साहसिक र अाश्चर्यलाग्दाे थियाे । उनीहरूले अाफ्ना प्यारासुटकाे सहयाेगले युएईकाे विशाल चतुरङ्गी झण्डा अाकाशमा फहराए । राताे, कालाे, हरियाे र सेताे रङले सजिएकाे झण्डा निकै अाकर्षक थियाे । कार्यक्रममा उपस्थित सबैका अाँखा अाकाशमा थिए । सबै निकै उत्साहपूर्वक त्याे ध्वज-प्रदर्शनीका साक्षी भइरहेका थिए ।

निकै भव्यतापूर्वक राष्ट्रिय दिवसकाे कार्यक्रम समापन भयाे । शेख रसिद र राजकुमारले हात मिलाउँदै र बिदाइका हात हल्लाउँदै अाफ्नाे कारमा चढे ।

बेलुका हामी संसारकाे सबैभन्दा अग्लाे टावर बुर्ज खलिफामा प्रदर्शन गरिने झण्डा हेर्न गयाैँ । झण्डा प्रदर्शन हुनुअघि सङ्गीतकाे धूनसँगै नाच्ने मानवनिर्मित पानीका फाेहराहरू अनि वरपरका गगनचुम्बी महलहरू हेरेर अानन्दित भयाैँ ।

बेलुका चिरञ्जीवीलाई सारजहामा छाेडेर फर्केपछि एक्लै बाटाे गाडी कुदाउँदै गर्दा देशकाे बारेमा साेचिरहेँ । यिनीहरूकाे लगनशीलता, देशप्रेम, जिम्मेवारी, झण्डा, राजा, देश, समृद्धि, मरियम, उसकाे शहीद भाइ सबैसबै अाँखा र मनमा खेलिरहेका थिए ।

ईच्छाशक्ति भए देश बदलिन समय लाग्दैन भन्ने सन्देश बाेकेर युएईकाे छातिमा पसारिएकाे विशाल "शेख खलिफा फ्रि वे"ले मलाई फुजेरातिर डाेर्याइरहेकाे थियाे । नेपालकाे वर्तमान लुछाचुँडी, विकेन्द्रीकरणको नाममा थाेपरिएकाे धान्न नसक्ने सङ्घीयता, लूटतन्त्र, न्यायहीनता अादि अादि सम्झेर मन एकतमासकाे भयाे । मस्तिष्कबाट तलतिर खसेकाे अाशा-निराशाकाे एक चिसाे बुँदले मेराे हृदयलाई दुइ किनारा लगाइदियाे ।

स्लो पोईजन


(कथा:- मनोज गजुरेल)



हो, उसले आमा मार्‍यो अन्जानमा मार्‍यो वा जानाजान मार्‍यो तर त्यसले आमा मारेकै हो   आमा अरू बीस वर्ष बाँच्न सक्थिन्, तर ७० वर्षमै उसले आमालाई मृत्युको मुखमा पुर्‍यायो  



आमा ९० वर्षकी हुँदासम्म उनको काखमा रमाउन सक्थ्यो, तर सुखका साथ पाल्छु भनेर ढाँट्यो मन्द विष पिलाएर मार्‍यो गजुरियल शैलीको यो रियल कथामा तपाईंलाई हार्दिक स्वागत
काठमाडौंमा उसको ठूलो घर थियो घरमा आमाका लागि कुनै असुविधा थिएन छुट्टै कोठा, कोठाभित्रै एट्याच बाथरुम, हेर्नका लागि ठूलो टिभी, सुत्नका लागि राम्रो पलङ, खानका लागि थरीथरीका परिकार, कुनै कुराको कमी थिएन आमालाई धेरै माया गरेको मान्थ्यो तर आमा त्यो सुविधामा कहिल्यै खुशी भइनन्
बुहारी बिहान बजे काममा जान्थिन् छोरो बेलुका बजे फर्कन्थ्यो नातिनातिना दिउँसो स्कुल जान्थे, बेलुका टिभी गेममा भुल्थे वल्लो घर, पल्लोघर सबैको एउटै अवस्था थियो बोलचाल गर्ने मान्छे छैनन् भित्तालाई सुनाउने कुरा भएन डुले त्यही घर तल माथि घुम्ने हो घुमे उही कोठा भित्र बाहिर गर्ने हो
एक दिन आमाले भाडामा बस्ने भानुसँग भनेकी थिइन्, ‘जुन दिन छोराले गाउँको सबै घरजग्गा बेच्यो, त्यही दिन मेरो मुटुको नशा चुँडिएको थियो धेरै अनुरोध गरें दिदीबहिनीहरू यतै छन् फुपू, मामा, काका, भान्जाभान्जी सबै यहीं छन् यही माटोमा मैले ५० वर्ष बिताएँ


अब मलाई यहीं मर्न देऊ सकुन्जेल आफैं गरेर खान्छु, नसकेका दिन दिदीहरूकहाँ जान्छु तिमेरुलाई दु: दिन्नँ बिन्ती, यो एउटा घर एक कठ्ठा जग्गाचाहिँ नबेचौं, तर मेरो पुकारा एक कानले सुनेर अर्को कानले उडाइदिए
आमाले त्यसो भनिरहँदा पल्लो कोठाबाट बुहारी भुत्भुताएकी थिई, ‘कुन्नी कल्लाई स्वर्ग जान्छस् भन्दा कुन्नि के पाइन्छ भन्थ्यो रे, त्यस्तै हो छोराले पनि स्वास्नीको हो मा हो मिलाएको थियो- ‘तपाईंलाई यहाँभन्दा काठमान्डौमा सुख हुन्छ मर्ने बेलामा किन निहुँ खोजिरहनु ?’ छोराले पनि यसो भनेपछि उनको केही जोड चलेन पतिले आफ्नै हातले बनाएको घर, पसिनाले सिंचेको जमिन, निर्माण गरेको सामाजिक सम्बन्धलाई सधैंका लागि छोडन् बाध्य भइन् आँसुका ढिक्का पछ्यौराले छोप्दै आमा जुन दिन काठमान्डौ पसेकी थिइन्, त्यही दिनदेखि उनलाई डिप्रेसनको बिमारीले समातेको थियो

हुनत: काठमाडौंको घरमा आमालाई उच्चस्तरको भौतिक सुविधा थियो, तर शान्ति आनन्द निम्नस्तरको पनि थिएन एकोहोरो बोल्ने टिभी थियो, दोहोरो बात मार्ने छिमेकी थिएनन् मायाले मिस्री दिँदा मुन्टो फर्काउने आफ्नै नातिनातिना थिए, ‘अम्बक देऊ आमैभनेर माग्ने छिमेकी बालबालिकाहरू थिएनन् फलफूल आमाको कोठामा फुत्त फाल्दिएर सिरियल हेर्न थाल्ने बुहारी थिइन्, तर देख्नासाथ काखमा खेल्न आउने बाख्राको पाठो थिएन प्राय: बाहिरैबाट खाना आएर आउने छोरो थियो, तर आमालाई देख्नासाथ ड्वाँ गरेर खोले माग्ने प्यारो गोरु थिएन आमाको बिमारी बिस्तारै बढ्न थाल्यो
निन्द्रा लाग्न छोडेपछि आमाले एक दिन भनेकी थिइन्, ‘हौ छोरा, गाउँ जाँदा पो निन्द्रा लग्थ्यो कि ठूल्दीदिकहाँ बस्छु, त्यतै पठाइदे नातिनातिनालाई कहिलेकाहीं घुम्म पठाइदेओ दसैंतिहारमा तिमीहरू पनि आइहाल्छौं पनि कहिलेकाहीं काठमाण्डु आउँदैजाँदै गरौंला दिदीबैनीहरू पनि हामी टुहुरा भयौं आमा भन्दै थिए त्यो एक कठ्ठा जग्गा घरचाहिं फिर्ता लिऊँ बाबु आमाको कुरा नसकिंदै गाडी स्टार्ट गरेर उसले हप्काएको थियो, ‘तपाईंलाई सुख नपचेको हो कि हामीलाई दु: दिन खोजेको हो ? यहाँ चुप लागेर सुखले बस्नु
छोरो जेलाई सुख भन्थ्यो, आमाको दु:खको मूल कारण त्यही थियो वल्लो घर, पल्लो घरटोलछिमेक, खेतबारी, कुटोकोदालो, कीर्तन, सांगे, छोरी, ज्वाइँ, सम्धी, आफन्त, आमा यसैमा रमाउँथिन्, जुन कुरा सहरमा थिएन अलिअलि घुँडा दुखे पनि उनको सुख यही गाउँघर थियो छोराबुहारीले पठाइदिएको १०२० हजारले राम्रै खर्च चल्थ्यो भरअभर सघाउने छिमेकी छँदै थिए, तर यी सबै सुख छोडेर सधैंका लागि सहर पसेपछि उनको मुहारमा कहिल्यै हाँसोको संकेत देखिएन
आमालाई डिप्रेसन भएपछि लामो समयसम्म औषधी ख्वाउनुपर्‍यो औषधीका कारण शरीर कमजोर हुँदै गयो कमजोर शरीरले कलेजो किड्नीलाई हान्यो सुगर बढ्यो, प्रेसरले समात्यो आमा कोठामा साँघुरिइन् एकोहोरो टोलाउँथिन् रुन खोज्थिन्, आँसु आउँदैनथे डाक्टरले केस सिरियस भएको अब धेरै आशा नगर्न सुझाव दिएपछि आमाको संसार काठमान्डौको घरबाट कोठामा साँघुरिएको थियो
एकपटक ठूली छोरीको अनुहार हेर्छु भनिन् उसले दिदीलाई प्लेनबाट काठमान्डौ बोलायो  किनभने उनीहरू (श्रीमान्श्रीमती)लाई मलेसिया भिजिटको चिठ्ठा परेको थियो मृत्यु कुरिरहेकी आमालाई ठूल्दिदीको साथ छोडेर उनीहरू ठूलो चिलगाडीबाट मलेसिया हुंईकिए

सातदिने मलेसिया भिजिट सकेर क्वालालम्पुर एयरपोर्टबाट काठमान्डौ उडे त्रिभुवन इन्टरनेसनल एयरपोर्टमा झरेर मोबाइलको स्विच अन गर्नासाथ दिदीको भक्कानिएको आवाज आयो, ‘सोझै आर्यघाट आउनु !’
आर्यघाटमा पुगेर आमालाई दागबत्ती दिएपछि मलाई अँगालो मार्दै भक्कानियो मैले सान्त्वना दिएँ— ‘नरो यार, सृष्टिको नियम नै यही हो उसले भन्यो, ‘तर मैले सृष्टिको नियम उल्लंघन गरें, जसका कारणले मेरी आमाको २० वर्ष छिटो मृत्यु भयो सुख दिने नाममा मैले आमालाई दु:खको भवसागरमा ल्याएर अनजानमा आमा मारें, मातृहत्यारा हुँ मैले सझाएँ, ‘अब ग्लानि गरेर केही हुँदैन यही आशा गर् कि तेरो यो कथा अरू सहरिया छोराछोरीका लागि एउटा शिक्षा बनोस् सबैले बुझून्पितृ प्रसाद बेचेर सहर पस्दैमा पितृ खुसी हुँदैनन्