आजकालका कामरेडहरु पलेटी मार्दैनन्


🌹🌹🌹🌹मेस्सी प्रेक्सन्🌹🌹🌹🌹

दिनलाई छोडौं,
दिनलाई ढाँट्न त गार्हो नहोला पनि,
दिनमा होहल्ला हुन्छ,
झुटहरु एकापसमा ठोक्किन्छन्,
तर रात,
रात त सबैको लागि उत्तिकै सुनसान हुँदो हो
के देख्छन् होला सपना ?
को को आउँदा होलान् ?
विगतले ऐनाहरू बोकेर
तर्साउन खोज्दा
रुँदाहुन् कि भाग्दाहुन् कामरेडहरु ?

निशाको निष्पट्टतामै पनि त
कहाँ सजिलै ढाकिन्छ र सबथोक !
छिप्पिँदै गरेको रातमा
एकपछि अर्को गर्दै
तुहिएका सपनाहरूको बोझले थिचिएका
एकादेशका इमान्दार छातीहरुले
आफैंलाई सम्हाल्न नसकेको बोध पनि
कहीँ न कहीँ त हुँदो हो !

राता कार्पेटमाथि हिँडेकै बेला
बंकरहरुको गाउँमा
प्रसव पीडामा छट्पटिँदै
आमाहरु मरेको
पढ्छन् कि पढ्दैनन् होला ?
अनि फेरि कहिल्यै नफर्किने
आफ्नो एकबारको जुनी
खेर गएको ठान्छन् कि ठान्दैनन् होला ?
कि सौदा गर्छन् होला नास्तिकहरु
बुर्जुवा ईश्वरसँग
पुनःजन्मका लागि ?
बस् यो जान्न मन छ मलाई
कि हामी धेरैलाई जस्तै
पीडा हुन्छ कि हुँदैन होला कामरेडहरुलाई ?
सोध्छ कि सोध्दैन होला
बालापनले उनीहरूको अवचेतनलाई ?
अनि के जवाफ फर्काउछन् होला कामरेडहरु
विदेशीएका "भगौडाहरुलाई"
विधवा "बोक्सीहरुलाई" !

मलाई थोरै मात्र सोध्न मन छ
कामरेडहरुसँग,
पलेटी मारेर बस्न आउँछ कि आउँदैन ?
गुन्द्रुक रुच्छ कि रुच्दैन ?
इच्छुकका इच्छा
अनि टुहुरेका धुनहरु सुन्दा
झ्याउ लाग्छ कि लाग्दैन ?
गरिखाने किसानको पसिनाको गन्धले
वाकवाकी लाग्छ कि लाग्दैन ?
मलाई आज यत्ति जान्न मन छ !