मेरी आमा

मेरी आमा एउटी नारी


      ( कविता )
नाम उनको थर बाबाको!
शिर उनको सिन्दुर बाबाको!
घाँटी उनको पोते बाबाको!
जिन्दगी उनको क्रम बाबाको!!

आखिर किन यस्तो ???

दस महिना गर्भ गरि मलाई उनले जन्माउने!
दुनियाँमा म चाहिँ बाबा को नाम मा चिन्निने!
मैले राम्रो काम गर्दा बाबा लाई बधाई दिन्छन्!
मैले नराम्रो काम गर्दा आमाको काख सराप्छन्!!

आखिर किन यस्तो ???

देवी स्वरुप आमा भन्छन् , देवी स्थान जान नहुने!
ती  देवी  नी  नारी  नै हुन् , उनलाई  चाहिँ  मान्ने!
आखिर किन हर जग्गा नारी लाई नीच देखाउँछन्!
शास्त्र ले नी यै भन्छ र ??? यात पुरुष बनाउँछन्!!

आखिर किन यस्तो ???

बाबाले नखाई उनले खान नहुने!
तीज मा उनी भोकै बस्दा बाबाको आयु बढ्ने!
खै ! कस्तो हो कस्तो बुझ्नै पर्यो गार्‍हो!
त्यसैले गर्छु यहीँ प्रश्न , आखिर किन यस्तो ???

                                   ( जीवन अचार्य )
**************************************

बाबा र आमा सबै का लागि एकै हुन् ,, यो कविता मा मैले बाबा र आमाको तुलना गर्न खोजेको हैन । शायद पुरुषको नजर ले पढ्दा त्यस्तो बन्न पनि सक्छ । तर मेरो त्यस्तो उदेश्य थिएन । गल्ती भए माफी र त्रुटी भए क्षमा चाहान्छु ।।

काठमाण्डौहरु - नेपाली कबिता

काठमान्डौहरू


=====
गोधुली साझमा,तेजिलो मुस्कान
छर्छन हिमालहरू
स्वथ्य हावा सुसेल्दै
हरियाली ओढ्छन
पहाडहरू
हिमाल र पहाडको फेदीमा
राजनीति गर्छन
काठमान्डौहरू

प्राकृतिक छटा धुमिल पारेर
अघोषित यो रजनिती?
गजब छ बा !



मागी खानटाभाडो भाछ
केन्द्रिय मेव
मेवले गर्ने दाइ
कसै कसैको पेवा जस्तो
बेथितिहरू पालेर
आसेपासे भिराभुरिहरू जमाएर
च्याखे थाप्छ
र सुरु गर्छ
फोहोरहरूको राजनीति
सडकहरूको राजनिती
ग्यासहरूको राजनिती
पानीहरूको राजनिती
बिजुलीहरुको राजनीति
बिमानहरूको राजनीति
यातायातहरूको राजनीति
रोजगारीहरूको राजनीति
शिक्षाहरूको राजनीति आदि इत्यादि
काठमान्डौहरू

सधै स्वागत योग्य
चारैतिर द्वार छ
द्वारभित्र मिसावट चिजबिजहरू चनाखो छ
सोझा मान्छेहरू
सुन्दर सपना बुनेर
ओइरोका ओइरो, ताती लाग्छन्
एकमुठी श्वास राखेर
हामी मान्छेहरूलार्इ
मेहमान बनाउदै छ
काठमान्डौहरू

चखाउछ दिनरात
महङ्गिहरू
दुर्गन्धित बिचारहरू
देखाउछ ,नरकका काखहरू
कारुनिक चित्कार्हरु
यदाकदा मुखरित आवाजहरू
सुन्दैनन
काठमान्डौहरू
मानौ उनिहरू
माना रोपेर मुरी फलाउने दाउमा
सधै सधै जागा जागा छन्
र एकनास
चुसिरहन्छ हामिहरुलार्इ
काठमान्डौहरू

बाबुराम श्रेष्ठ “यात्री”
सिन्धुली

सुल्ताना-अविरल यात्री

"सुल्ताना"

=-=-=-=-=

दुबई ।
दशैँकाे पूर्वसन्ध्या ।

युनियन मेट्राे स्टेसनकाे विशाल अन्डरग्राउन्ड स्टेसन ।  रेडलाइनबाट जाबेल अलि - रसिदिया जाने मेट्राे र ग्रीनलाइनबाट इतिसलात-क्रीक जाने मेट्राेहरू छुटिने तथा भेटिने ठाउँ - इन्टरजङ्कसन ।

याे स्टेसनमा हजाराैँ यात्रीहरूसँगै उनीहरूका दिल मिल्छन्, छुटिन्छन् ।

मलाई जानु त कहिं पनि थिएन, बस् मेट्राे चढेर दुबई देख्ने रहरले चढेको थिएँ । मेट्राे सुनसान थियाे । खासै यात्रीहरू थिएनन् । हातमा अरबीक साहित्यकाे किताब बाेकेकाे थिएँ । निकै रहरले शिरमा "घाेत्र" भन्ने अरबी कपडा बाँधेकाे थिएँ । याे अरबी लूक मलाई निकै मनपर्थ्याे । ध्यान चाहिँ किताब भन्दा बाहिर हेर्नुमा थियाे ।

म सीटमा एकसुरले बसेर सुरुङ मुनि छँदा अन्डरग्राउन्डकाे अँध्याराेसँगै शान्त हुन्थेँ अनि बाहिर निस्केपछि गगनचुम्बी महलकाे उचाईसँगै अग्लिइन्थेँ ।

"सलाम अलैकुम !"
निकै मधुर नारी अावाजले मलाई बाेलायाे ।

"वालेकुम सलाम!" मैले फर्केर हेरेँ । काखमा सुँकसुकाइरहेकाे बच्चा लिएकी ती महिलाका अति सुन्दर नीला अाँखा मात्रै देखिएका थिए । बाँकी शरीरलाई पुरै कालाे "अबाया"ले ढाकिरहेकाे थियाे । बच्चा मानिरहेकाे थिएन ।

उनकाे सुन्दरतालाई उनका अाँखाले स्पष्ट बाहिर देखाउँथे । दुइ अाँखाबीचकाे भागमा काला बाक्ला अाँखिभाैँ ! गाेराे रङ्ग । मानाैँ - कुनै गुलाबलाई कालाे कपडाले पर्दा गरेजस्तै ।

हादा फादी? (के याे खाली हाे ?) मेराे छेउकाे सीट देखाएर भनिन् ।

सानाे झाेला छेउमा राखेर मेरै सीट नजिक अाएर बसिन् ।  म उनलाई सजिलो हाेस् भनेर उठेँ । भनिन् - ला ला ! जलिस् ! माफि मुस्किल ।
(हाेइन हाेइन बस । केही समस्या छैन) ।

"इन्ता आरफ अरबी ? (अरबी अाउँछ तिमीलाई ?)" । म‌ैले भनें - अल हमदुलिल्लाह ! (भगवानकाे कृपा छ।)

उनले मुख ढाकेकाे कपडा हटाएर लुकाएको चन्द्रमुहार देखाइदिइन् । साक्षात् पूर्णिमा । मानाैँ, कुनै देवी सशरीर मेराे सामुन्ने उपस्थित छन् ।

साेधिन् -
"सू इस्मक?" (के नाम तिम्राे?)
- अना अविरल !
- माशाअल्लाह ! हिन्दी ?
(कति राम्रो नाम ! इन्डियन हाै )
ल्या, निबाली ।
(हाेइन, म नेपाली)
- निबाली ? माशाअल्लाह ! निबाली वाइद हेलो, तैइब यानी।
(नेपाली अति सुन्दर र असल हुन्छन् )
- हाम्दुलिल्लाह ( भगवानकाे कृपा)
- सू इस्मि ? (तिम्राे नाम नि )
- सुल्ताना
- सुब्हान अल्लाह !!
- इन्ती मघरिबी ? ( तिमी माेरक्कन हाै )
- ल्या, सूरी ! (हाेइन, सिरियन)

सुँकसुकाइरहेकाे बच्चा मलाई हेरेर रून थाल्याे । मलाई देखेर डरायाे कि भनेर मैले भनेँ - लेस इब्कि बच्चा ? खाैफ ? (बच्चा किन राेएकाे, डराएर हाे ?)

सन्नाटा छायाे । केवल रेल गुडेकाे अावाज मात्रै कानमा अाइरह्याे । एकछिन पछि रसिला अाँखा पारेर भनिन् - यसकाे बाबा "अहमद"  तिमीजस्तै अग्लाे थियाे, ठूलाे ज्यान, हेन्सम । अार्मीमा थियाे, सिरियामा शहीद भयाे । यसले बाबालाई खूब माया गर्थ्याे, अाज तिमीलाई देख्दा बाबा सम्झियाे सायद !!

अस्तघफिरूल्लाह ! - मैले अरबी भाषामै सहानुभूति जनाएँ ।

"जन्नत(स्वर्ग)जस्ताे सिरिया हेर्दाहेर्दै जेहन्ना(नर्क)भयाे । म लतिफा (कविता) लेख्थेँ, उ मेराे काखमा सुतेर सुन्थ्याे । घरमा अाउँदा मलाई पार्कमा लैजान्थ्याे । आरुस (विवाह) भएकाे रात उसले मलाई पत्थर भएकाे सुन्दर अङ्गुठी उपहार दिएकाे थियाे……

उ मारिएपछि सेनाकाे परिवार बस्न सक्ने अवस्था रहेन । भागेर तुर्की जाने पानीजहाजमा चढेँ । जहाजमा मान्छे धेरै भएर मेरा बुबाअामासहित सबै समुद्रमा डुबे ।  म भाग्यले बाँचे । मरेकाे भए पनि हुन्थ्याे, दुख लेखेकाे । काखमा याे बच्चा, खबुस र पानीकाे भर । अनिष्टकाे अाशङ्का । कुनै गुनाह नगरी अल्लाहले यत्राे "कहर" दियाे । ठुलाे मुस्किलले म बाँचेर याे देश इमारातमा अाएँ । मलाई अल्लाहसँग ठूलाे गुनासाे छ……

सरकारले खबुस र घुर्फा(काेठा) त दिएकाे छ तर म लासजस्ताे भएकी छु ! न "अहमद" साथमा, न परिवार ।

"हेर ! उसले दिएको अङ्गुठीकाे पत्थर हरायाे तर अङ्गुठी छ मसँग………… !" हातका अाैँला ढाकेकाे कपडा हटाएर उसले अङ्गुठी देखाई ।

"उ पत्थर रहेछ, म अङ्गुठी ! पत्थर हराएकाे अङ्गुठीजस्तै मेराे जीवन !" उसकाे अन्तरस्करण बाेल्याे ।

"याे बच्चाकाे व्यवस्था राम्रो भैदिए म "अहमद" लाई भेट्न छिटै जन्नत (स्वर्ग) जानेथिएँ………… इन्शाअल्लाह !!"

त्यसमाथि "अहमद" जस्तै तिमी अाज भेटिएर उसकाे घाउ झन् दुखाइदिइयाै ……………

मलाई हजार बिच्छीले टाेकेकाे भान भयाे । मेराे पत्थर दिल पग्लियाे । अाँखाकाे डिल फुट्याे । बच्चालाई काखमा लिन मन लागेकाे थियाे तर फर्केर हेर्ने हिम्मत अाएन । वाक्य फुट्नै सकेन । मेराे पत्थर-दिलले अाज मलाई नराम्रोसँग धाेका दियाे र परेलीकाे डिल भत्काइदियाे ।

सिरियाकाे युद्धले म लाखाैँ किलोमिटर टाढा बस्ने नेपालीलाई पनि नराम्ररी रुवाइदियाे !

रेल DAFZ स्टेसनबाट अघि बढ्याे । मैले पछाडि फर्केर हेरेँ । अधिकांश मान्छे झरिसकेछन् । मेट्राे लगभग खाली थियाे । स्पिकरमा अावाज अायाे - अर्काे स्टेसन "अल कुसैस" हुनेछ ।

उसले भनी - ……… खलास्, अना नेजिल हिना। माअस्सलामा अविरल ! ( तिमीसँगकाे यात्रा पनि "अहमद"सँगकाे जस्तै छाेटाे रहेछ अविरल ! म जान्छु । तिमीलाई अल्लाहले खुशी राखुन्)

रेलले गति लियाे । उसलाई झाेला हातमा दिन उठेकाे मात्र थिएँ, एक्कासी बच्चासहित मलाई अँगालो हालेर झम्टेर राेइ । बच्चाले पनि मलाई  "बाबा !" भनेर च्याप्प समातेर राेयाे, म केही गरे पनि सम्हालिनै सकिनँ र राेएँ । सबै सँगै राेयाैँ । अपरिचितसँगकाे याे रुवाई  परिचितसँगकाे भन्दा बढी पिडादायी भयाे ।

जाने बेला "५०० दिरहाम जरिवाना" काे प्रवाह नगरिकन
भिजेका परेला र चिसाे अाेठले हृदयसम्म पुग्ने गरी मेराे निधार, गाला र अाेठ चुमी र एकपटक पनि मतिर नहेरी बाहिर निस्की !

40 मिनेट अघि भेटिइ र जीवनभरिकाे लागि सम्झेर रुने पलहरू उपहार दिएर "सुल्ताना" कता हाे कता गइ । हेर्दाहेर्दै उसकाे अाकृति स्टेसनभित्रै धमिलाे भयाे अनि हरायाे ।

गालाकाे बाटाे हुँदै झरेका मेरा अाँशुजस्तै गरी रेल पनि अाफ्नाे प्रवाहमा अन्तिम स्टेसनतर्फ अाेरालाे लाग्याे……………