धुर्मुस सुन्तलीद्धारा तेश्रो बस्ती निर्माणको घोषणा

हाँस्य कलाकार सिताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली) ले तेश्रो एकिकृत बस्ती निर्माण गर्ने घोषणा गरेका छन् ।
एक भिडियो सार्वजनिक गर्दै उनीहरुले मानवता र सद्भावका लागि सहकार्य गरेर साथ दिन सम्पूर्ण सहयोगी मनसँग अपील समेत गरेका छन् । भूकम्प पिडितका लागि दुईवटा एकिकृत नमूना बस्ती निर्माण सम्पन्न गरीसकेको धुर्मुस सुन्तली फाउण्डेशनले बर्दिबास २, महोत्तरीमा एकिकृत नमूना मुसहर बस्ती निर्माण गर्ने घोषणा गरेको हो ।
गएको वर्ष सरसफाईका क्रममा धुर्मुस सुन्तली उक्त बस्तीमा पुगेका थिए । चरम गरिबीको चपेटामा रहेका मुसहर दाउरा बेचेर जिविकोपार्जन गर्दै आएका तराइको पिछडिएको जातिमा पर्छन । शितलहरबाट पिल्सीएका मुसहरको दर्दनाक अवस्था देखेका उनीहरुले गएको वर्ष धुर्मुस सुन्तलीले न्यानो वितरण समेत गरेका थिए । भूकम्प पिडितलाई पहिलो प्राथमिकतामा राख्दै एकिकृत बस्ती निर्माण गरेका उनीहरुले तराईमा मानवता र सद्भावका लागि काम गर्न लागेको बताएका छन् ।
गाँस, बास र कपासको समेत समस्या रहेको मुसहर बस्तीमा आफुहरु पुगेपछि अहिले निकै परिर्वतन देखा परिसकेकाले ५० परिवार मुसहरलाई उपहारस्वरुप घर प्रदान गर्न लागिएको फाउण्डेशनका अध्यक्ष सिताराम कट्टेलले बताएका छन् । उनी भन्छन्, ‘स्वास्थ्य, शिक्षा, सरसफाईमा निकै पछि रहेको मुसहर बस्तीलाई बालमैत्री, शिक्षित र सरसफाईयुक्त बनाउन सक्नु ठूलो परिर्वतन  हो, त्यो उपलब्धी हाँसिल गर्नका लागि पहिलेजस्तै सबैको सहयोगको आवश्यकता छ ।’



गजल

स्वदेशमै जीविका गरेकैमा खुसी छु
सुख दुख दुबै छाक टरेकैमा खुसी छु
कमाउने रहर कसलाई पो हुन्न र?
मेहनत गरी घरमा मानो भरेकैमा खुसी छु
बाध्यताले बिदेसिने दाजुभाइको पीडा सुन्दा
परेदेशतिर जाने इच्छा मरेकैमा खुसी छु
ठुलाबडाको कमाउने फोहरी धन्दा देख्दा खेरी
सर्बसधारण नागरिकभित्र परेकैमा खुसी छु
कहिलेकाहीँ पुर्खाको थलो याद आए पनि
पहाडबाट मधेशतिर झरेकैमा खुसी छु

मुकुन्द पौडेल
चितवन