गजल :- तिमी छौ, भन्ने भान; कहिले हुन्छ सरकार ?



तिमी छौ, भन्ने भान; कहिले हुन्छ सरकार ?
खाडी उड्ने रित्तो उडान; कहिले हुन्छ सरकार ?

राहदानी फाल्दिदैमा; शासक बनिन्छ र !
नागरिकको सच्चा प्रमाण; कहिले हुन्छ सरकार ?

गोर्खे र बहादुर भै; कति झुक्नु सँधै
हाम्रो देशमा श्रम गुणगान; कहिले हुन्छ सरकार ?

चाटु,चम्चे राडीमा छन्; युवा खाडीमा छन्
नातावादको समाधान; कहिले हुन्छ सरकार ?

रगतका प्यासीहरु; फेरी यूद्ध भन्छन
बन्दुक भन्दा कलम महान; कहिले हुन्छ सरकार ?

के गर्नु त्यो संबिधानले; धानै नफले'सी !
हिउद बर्षा मल प्रदान; कहिले हुन्छ सरकार ?

सुनको भाउ जहाँ पूगोस; नुनको खबर के छ?
कर्णालीको स्तर उठान; कहिले हुन्छ सरकार ?

हाम्रा पनि आमा-बाबु,जहान-बच्चा छन् नि!
एउटै चुल्हो,एउटै सिरान; कहिले हुन्छ सरकार?

जे.सागर
पेप्सीकोला,काठमाडौँ
हाल:आबुधाबी(यु.ए.इ.)

This poem touched me very much...