दुबईमा दुखेको मेरो देश

"दुबईमा दुखेकाे मेराे देश"
=-=-=-=-=-=-=-=-=-=-=
(कथा:-अबिरल यात्री)
     

 डिसेम्बरकाे एक चिसाे बिहान, तलतिर खसेकाे १ बुँद शीतले गाडीको सीसालाई दुइ किनाराझैँ छुट्याइदियाे ।

    मैले बडाे रहरले "स्प्लास"मा किनेको सेतो जिन्स लगाएँ । सेताे रङकाे टिसर्टमाथि माेदिकाेट, इदमा "अरबाब"ले उपहार दिएका एडिडासका जुत्ता अनि शिरमा नेपालबाट निकै चाखले ल्याएकाे ढाकाटाेपी लगाएँ ।

    मलाई दुबई, "अल सइफ" मैदान पुग्नु थियाे, जहाँ युएईकाे राष्ट्रिय दिवसकाे अवसरमा भव्य सांस्कृतिक तथा परेड कार्यक्रमकाे अायाेजना गरिएको थियाे ।

    फुजेराबाट बिहानै निस्केँ । परिवारबाट टाढा भएकाे मलाई बिगत चार वर्षदेखि अाफ्नाे काखमा राखेर यात्राकाे अानन्द दिने मेरी जीवनसङ्गिनी थिइन् - जापानकाे प्रख्यात "निशान" वंशमा जन्मिएकी सुन्दरी "श्रीमती अल्टिमा शर्मा" ।

   मेराे गाडीको याे नाम स्याङ्जाली मित्र डी चिरञ्जीवीले राखिदिएका थिए । अष्ट्रेलिया पढ्न जाने सपना पूरा नभएपछि खाडीमा किस्मतकाे जाँताे घुमाइरहेका, पूर्वीय दर्शन र साहित्यका अनुरागी यी साथी निकै रसिक र व्यङ्ग्यचेतका हुनाले मलाई खूब मनपर्छन्, अतः उनलाई पनि लिएर कार्यक्रममा जाने मेराे रहर थियाे ।

युएईकाे चट्टाने पहाड फाेरेर जापान सरकारकाे प्राविधिक सहयाेगमा बनाइएकाे ६ लेनकाे "शेख खलिफा फ्री वे" ले पूर्व पश्चिमका तटीय शहरहरू फुजेरा-दुबईलाई जाेडेकाे छ । कडा चट्टान फाेरेर बनाइएको याे विशाल बाटाेमा यात्रा गर्दा मलाई नेपालकाे बाटाेकाे सम्झनाले पिराेलीरह्याे । देश सम्झेर दुखेकाे मन लिएर १३० किमि प्रतिघन्टाकाे रफ्तारमा गाडी कुदाएर शारजाह पुगेँ, जहाँ मलाई चिरञ्जीवीले पर्खिरहेका थिए ।

उनीसँग भेट भएपछि मेराे यात्रा जहिले पनि निकै मीठाे हुन्छ । ड्राइभिङ उनले गर्ने रहर गरे। म दाहिने छेउमा बसेँ । उनले कालीदासकाे मेघदूतकाे मेघ बर्साएर मलाई भिजाए, मैले अरबी कवि "अाेउषा अल सुअाइदी" का लतिफा अनुवाद गरेर उनलाई सुनाएँ । कतै चिया पिउँदै, कतै पराैठा खाँदै हामी दुबई पुग्याैँ ।

"अल सइफ"काे मञ्च बेहुली झैँ सिँगारिएकाे थियाे । अघिल्लो लाइनमा सेताे कन्दुरामा सजिएका स्थानीय अरबी तथा उच्च पदस्थ अधिकारी सपरिवार उपस्थित थिए । त्यसपछि अार्मी, सशस्त्र प्रहरी, स्पेशल टास्क, प्रहरी लगायतका अधिकारीहरू बसेका थिए । अन्य विभिन्न देशका कुटनैतिक प्रतिनिधिहरू पनि उपस्थित थिए ।

एउटी रुपवती स्थानीय अरबीले स्वागत गरिन् - मरहबा निबाली हबिबि । अना मरियम अल खामिस । ! (स्वागतम् नेपाली अात्मीय ! मेराे नाम मरियम अल खामिस )

मैले सोधेँ- मस्घुर, मस्घुर । बिलाकिन इन्ती केफ मालूम नहन निबाली ? (आभार, आभार!! तर तिमीले कसरी थाहा पायाै ? हामी नेपाली भनेर)
उनले भनिन- " "अना सोगल दिप्लोमेती अफिसर सानातेन मा निबाल!" (म दुई वर्ष नेपालमा कुटनैतिक अधिकारी भएर काम गरेकी छु)।  तिम्रो टाेपीले सगरमाथा बाेकेकाे छ । ए हिउँकाे देशका मान्छे ! ए बुद्धकाे देशका मान्छे ! स्वागत छ ।"

उनकाे मुख दार्शनिककाे जस्ताे भयाे । मेराे टाेपी यति महत्त्वपूर्ण हाेला भनेर मैले कल्पनासम्म गरेकाे थिइनँ, अाज एउटी अरबी युवतीले मलाई मेराे देश चिनाइदिइन् । मेराे हृदय गर्वले भरिलाे भयाे ।

उनी डिप्लाेमेटिक अफिसर भएर पनि राष्ट्रिय दिवसकाे कार्यक्रममा साधारण स्वयंसेवी भएर काम गरिरहेकी, अागन्तुकलाई सम्मानपूर्वक स्वागत गरिरहेकी । देशप्रतिकाे उनकाे माया र सम्मानले मलाई नतमस्तक बनायाे ।

एकैछिनमा "दुबई १" लेखेकाे मर्सिडिज बेन्ज गाडी अाफैले हाँकेर दुबईका शासक तथा युएईका प्रधानमन्त्री एवं उपराष्ट्रपति शेख माेहम्मद बिन रासिद अाइपुगे । न गाडीहरुकाे लर्काे, न सुरक्षाकर्मीकाे कडा दस्ता । केवल साथमा अाफ्ना जेठा छाेरा युवराज "हमदान विन माेहम्मद"लाई लिएर अाएका । शिरमा घाेत्र, सेताे कन्दुरामाथि सुनाैलाे रङकाे लामाे अरबी काेट पहिरेका, दारी पालेका । निकै अाकर्षक तथा सर्वप्रिय राजा । सबैले उठेर स्वागत गरे । अगाडिको कुर्सीमा उनी बसे, छेउमा युवराज।

    निर्धारित समयमा राजा अाइपुगे, निर्धारित समयमा कार्यक्रम सुरू भयाे । "नेपाली समय" भनेर सबै कार्यक्रम २ घन्टापछि सुरु हुने वातावरणमा हुर्केको मलाई यहाँकाे याे परिपाटी देखेर निकै अचम्म लागिरहेको थियाे ।

बिना सुरक्षाकर्मी साधारण जनताजस्ताे भएर अाएका राजा र राजकुमार देखेर हाेला, चिरञ्जीवीले मरियमलाई साेधे -

"शेख रासिदकाे सेक्युरिटी प्राेटाेकल कस्ताे छ ?"

उनले भनिन् - "हाम्रा राजाकाे सेक्युरिटी प्राेटाेकल नै छैन किनकि उनले दुबईलाई यति सुरक्षित बनाएका छन् कि उनलाई सेक्युरिटी या प्राेटेक्सन नै चाहिँदैन । यहाँ दुबईमा कुनै पनि देशकाे राष्ट्राध्यक्ष, VVIP व्यक्ति बिना सुरक्षागार्ड हिँड्न सक्छ । हाम्रो राजाकाे माेबाइल नम्बर हामी जनताजति सबैलाई थाहा छ, अाफ्नाे समस्या हामी जुनसुकै बेला राजालाई सुनाउन सक्छाैँ । अनि उनकाे ढाेका हाम्राे लागि २४ घन्टा खुल्ला छ।"

अाफ्नाे देश र जनताप्रति शासकको याे जिम्मेवारी, देशकाे सुरक्षा अवस्थाप्रति राजा र सारा दुनियाँकाे यत्राे विश्वास, राजाप्रति जनताको सम्मान देखेर म छक्क परेँ ।
अनि कतै सवारी हुँदा २ घन्टा अघिदेखि एम्बुलेन्स समेत चल्न नदिई २/३०० कमान्डाेकाे सुरक्षामा हिँड्ने हाम्रा देशका नेताहरू सम्झेर अाफ्नाे देशकाे सरकार र सुरक्षा व्यवस्था प्रति घाेर वितृष्णा जाग्यो ।

केहीबेर पछि राजाकाे सम्बाेधन सुरु भयाे । उनले भने - "याे देशकाे समृद्धिमा रगत र पसिना सिञ्चित गर्ने सम्पूर्णप्रति अाभारी छु । अाज तपाईंहरु सबैकाे साथमा बसेर राष्ट्रिय दिवस मनाउन पाउँदा निकै अानन्दित भएको छु, धन्यवाद ।"

मुस्किलले ४० सेकेन्ड भाषण गरेर राजाले लामाे फलामे खम्बामा बाँधिएकाे डाेरी तानेर देशकाे झण्डा फहराए । तालीकाे अावाजले अाकाश गुञ्जायमान भयाे । शाही ब्याण्डले मेघकाे गडगडाहट जस्तै धून बजायाे ।

लगत्तै स्पिकरमा राष्ट्रिय गान बज्याे । हामी सबै सम्मानमा उठ्याैँ । "ईशी बिलादी अास इत्तिहाद - अल इमारात………!"
चिरञ्जीवीलाई कण्ठ रहेछ, मजाले गाए । देशभक्तिले अाेतप्राेत याे राष्ट्रिय गान गाउँदा अधिकांशका हातमा राेमाञ्चले काँडा उठेको देखियो । बितेका १२ वर्षदेखि खाडीमा बसेर कहिले कानुनी, कहिले साहित्यिक कहिले दाेभाषे भएर भाषिक अनुवाद गर्दै अरबी भाषामा पाेख्त भएको म अाफुले चाहिँ अरुले झैँ राष्ट्रिय गीत गाउन नसकेकोमा पछुतो भयाे ।

यहाँ, न कसैले कसैलाई खादा अाेढायाे, न कसैलाई अासनग्रहण, न भाषण तथा मन्तव्य, न स्वागतका लागि स्कुले बच्चालाई भाेकै घाममा उभ्याए । यहाँका शासक तथा मन्त्रीहरू काम गरेर देखाउने, बाेल्न फिटिक्क नचाहने स्वभावका रहेछन् । हाम्रा देशका भाषणप्रेमी कामचाेर नेताहरूलाई मैले एकपटक फेरि पनि धिक्कारेँ ।

यिनीहरू नबाेलेरै विकासकाे चरमचुलीमा पुगे, हाम्रा शासकहरू मुखैले मङ्गलग्रह पुग्छन् । यिनीहरू सन् २०३० सम्ममा हजाराैँ किलोमिटर परकाे अन्टार्कटिका महादेशबाट हिउँकाे पहाड युएई ल्याएर जनतालाई पिउने पानी दिने तयारीमा काम गरिरहेका छन् । हाम्रो भने छिमेकी जिल्लाकाे मेलम्ची झन्डै तीन दशकदेखि अल्झिरहेकाे छ । यिनीहरू ३ सिफ्टमा काम गरेर दूरदराजका गाउँमा पुग्ने सयाैँ किलोमिटर बाटाे १ महिनामा कालाेपत्रे गर्छन्, हाम्रो देशकाे राजधानीमै बाटाेमा खाडल भेटिन्छ ।

म यस्तै तुलनामा थिएँ, माइकबाट जानकारी अायाे - अब राष्ट्रिय दिवसकाे परेड सुरु हुँदैछ ।

     सुरुमा अार्मीले अाफ्नाे परेड देखायाे । त्यसपछि घाेडामा सवार भएर सशस्त्र प्रहरी अायाे । त्यसपछि निकै ठूलाे र लामाे राष्ट्रिय झण्डा बाेकर प्रहरीकाे एक दस्ता अगाडि बढ्याे । लगत्तै हातमा अत्याधुनिक हतियार लिएर मार्चपास गरिरहेका महिला प्रहरीहरूकाे समूह देखा पर्याे । त्यसपछि एम्बुलेन्सहरूकाे ताँती देखियाे । त्यसपछि दमकल लगायतका सिभिल डिफेन्सका वाहनहरू देखा परे । त्यसपछि फेरारी, ल्याम्बाेर्गिनी जस्ता अति महङ्गा प्रहरीका गाडीहरूकाे ताँती देखापर्याे । काेहि घाेडामा काेही उँटमा काेही पैदल, कतै हातमा तलबार, कतै झन्डा, कतै देशकाे सम्मानमा लेखिएका व्यानर, कतै पम्प्लेट । काेही महिला-पुरुषहरू राष्ट्रिय पाेसाकमा, बच्चाहरू अार्मीकाे "कम्ब्याट" ड्रेसमा । हजाराैँ महङ्गा कारहरूमा कतै देशकाे झण्डा, कतै दुबईका राजाकाे तस्वीर, कतै अबुधाबी शेखकाे फाेटाे, कतै राष्ट्रपिता शेख जाएदकाे भव्य तस्वीर !  विभिन्न देशका सांस्कृतिक समूहकाे कला प्रदर्शनी । निकै अपूर्व झाँकीसहितकाे परेड कार्यक्रम भयाे ।

सेनाहरूकाे परेड देख्नासाथ गर्वले छाति फुलाएर उनले भनिन् - मेराे अाखु(भाइ) अार्मीमा थियाे, देशकाे लागि लड्दादड्दै यमनमा शहीद भयाे । अल्लाहले उसलाई जन्नतमा सबैभन्दा अग्लाे दर्जा दिउन् । तर हाम्राे परिवारमा भाइ शहीद भएकाे दुखभन्दा देशकाे लागि कुर्बान भएकाेमा गर्व धेरै छ । भाइकाे शरीर राष्ट्रिय झण्डामा बेरिएर घरमा अाएकाे दिन राजा स्वयं हाम्राे घरमा अाएका थिए । उसलाई दफन गर्ने बेला शाही टुकडीले अन्तिम सलामी दिएकाे थियाे । कसैकाे अन्त्य हाेस् त मेराे भाइकाे जस्ताे हाेस् ।

उसकाे कुराले मेराे हृदय हल्लाइदियाे । मलाई "हत्वा वा प्राप्स्यसे स्वर्गं जीत्वा वा भाेक्ष्यसे महीम्" भन्ने गीताकाे वचन याद अायाे । बडाे मुस्किलले गह्रुङ्गाे हृदय लिएर सुनिरहेँ । अरबी हृदयमा राष्ट्रियताकाे दियाे यसरी जग्मगाएकाे रहेछ ।

याे युएईकाे ४७ अाैँ राष्ट्रिय दिवस थियाे । निकै लामाे विश्व इतिहासमा युएईले भने भखर अाफ्नाे ४७अाैँ दिवस किन मनाएकाे हाेला ? भन्ने खुलदुली लागेर मैले मरियमलाई साेधेँ - तिमीहरूकाे इतिहास जम्मा ४७ वर्षको हाे ? त्यसभन्दा अगाडिकाे जीवन, देश कस्ताे थियाे ? किन शेख जाएदलाई यति धेरै सम्मान ?


उसले गर्विलाे उत्तर दिइ -

    त्यसभन्दा अगाडि हामी टुक्राटुक्रा थियाैँ । ७ राज्यकाे बिचमा लडाइँ चल्थ्याे । पहाडकाे बीचमा भएको हुनाले रस अल खेमा राज्य निकै शक्तिशाली थियाे । एकअापसमा लडेर शक्ति खर्चनुभन्दा मिलेर गरिबी, असमृद्धिकाे विरुद्धमा लड्दा देश उन्नत हुने ठानी सन् १९७१मा अबुधाबीका तत्कालीन राजाले ७ वटै अमीरात(इमिरेट्स) का राजाहरू बाेलाई राज्यमा राजतन्त्रात्मक र केन्द्रमा राष्ट्रपति रहने खालकाे गणतन्त्रात्मक सरकारकाे स्थापना गर्ने निर्णय गरी एउटै झण्डामुनि अलगअलग ७ राज्यलाई जाेड्ने काम गरे । अहिले हाम्रो देशमा केन्द्रीय सरकार र सर्वमान्य कानुन छ । टुक्रिएर राज्य चलाउँदा देशकाे अस्तित्व हुँदैन । त्यसैले सबै देशबासी र राज्यलाई एकताकाे मालामा उन्ने हाम्रा राजा जाएदलाई हामी निकै सम्मान गरेर राष्ट्रपिता भन्छाैँ । हेर !  अाज हाम्रा शेख जाएदले जाेडेकाे याे देशका शतप्रतिशत जनताहरू कराेडपति छन् । कुनै समय अन्न नउब्जिने मरुभूमि भनेर चिनिएकाे याे भूभागले अाज लाखाैँ विदेशीकाे घरमा चुह्लाे बालेकाे छ । हाम्रो देशमा कुनै पनि स्थानीय नागरिक (मुवातन) गरिब छैन, हामी सबै समृद्ध छाैँ । यसकाे श्रेय शेख जाएदलाई नै जान्छ ।

उनका शब्द सुन्दा मलाई राष्ट्रनिर्माता खण्डकाव्यमा पृथ्वीनारायण शाह बाेलेजस्ताे भान भयाे -

खेलेर ऐरा मृग एक मारी !
बाँडी कलेजाे जति छन् शिकारी !
बिलाे लिएझैँ शरमा उनेर
याे राज्य बाँड्ने चिज हाेइन हेर !

थुतिन्छ पत्ता जब खातखात………
सिद्धिन्छ शाेभा अनि फूलबाट ……

  टुक्रिएकाे देश जाेड्ने दुई महान् विभूति पृथ्वीनारायण शाह र शेख जाएद! मनमनै शतशत नमन गरेँ । मरियमका शब्दमा देश बाेल्थ्याे । अाँखामा देशभक्ति नाच्दथ्याे।

यसैबीचमा निकै माथिबाट उडेकाे हवाइजहाजबाट प्यारासुट लिएर केही साहसीहरू हामफालेकाे देखियाे । अलिकति तल अाएपछि उनीहरूकाे प्यारासुट खुल्याे । उनीहरूले प्यारासुटमा युएईकाे झण्डा बाेकेका थिए । सामुहिक रूपमा देखाइएको यस कला निकै साहसिक र अाश्चर्यलाग्दाे थियाे । उनीहरूले अाफ्ना प्यारासुटकाे सहयाेगले युएईकाे विशाल चतुरङ्गी झण्डा अाकाशमा फहराए । राताे, कालाे, हरियाे र सेताे रङले सजिएकाे झण्डा निकै अाकर्षक थियाे । कार्यक्रममा उपस्थित सबैका अाँखा अाकाशमा थिए । सबै निकै उत्साहपूर्वक त्याे ध्वज-प्रदर्शनीका साक्षी भइरहेका थिए ।

निकै भव्यतापूर्वक राष्ट्रिय दिवसकाे कार्यक्रम समापन भयाे । शेख रसिद र राजकुमारले हात मिलाउँदै र बिदाइका हात हल्लाउँदै अाफ्नाे कारमा चढे ।

बेलुका हामी संसारकाे सबैभन्दा अग्लाे टावर बुर्ज खलिफामा प्रदर्शन गरिने झण्डा हेर्न गयाैँ । झण्डा प्रदर्शन हुनुअघि सङ्गीतकाे धूनसँगै नाच्ने मानवनिर्मित पानीका फाेहराहरू अनि वरपरका गगनचुम्बी महलहरू हेरेर अानन्दित भयाैँ ।

बेलुका चिरञ्जीवीलाई सारजहामा छाेडेर फर्केपछि एक्लै बाटाे गाडी कुदाउँदै गर्दा देशकाे बारेमा साेचिरहेँ । यिनीहरूकाे लगनशीलता, देशप्रेम, जिम्मेवारी, झण्डा, राजा, देश, समृद्धि, मरियम, उसकाे शहीद भाइ सबैसबै अाँखा र मनमा खेलिरहेका थिए ।

ईच्छाशक्ति भए देश बदलिन समय लाग्दैन भन्ने सन्देश बाेकेर युएईकाे छातिमा पसारिएकाे विशाल "शेख खलिफा फ्रि वे"ले मलाई फुजेरातिर डाेर्याइरहेकाे थियाे । नेपालकाे वर्तमान लुछाचुँडी, विकेन्द्रीकरणको नाममा थाेपरिएकाे धान्न नसक्ने सङ्घीयता, लूटतन्त्र, न्यायहीनता अादि अादि सम्झेर मन एकतमासकाे भयाे । मस्तिष्कबाट तलतिर खसेकाे अाशा-निराशाकाे एक चिसाे बुँदले मेराे हृदयलाई दुइ किनारा लगाइदियाे ।

No comments: