स्लो पोईजन


(कथा:- मनोज गजुरेल)



हो, उसले आमा मार्‍यो । अन्जानमा मार्‍यो वा जानाजान मार्‍यो तर त्यसले आमा मारेकै हो ।  आमा अरू बीस वर्ष बाँच्न सक्थिन्, तर ७० वर्षमै उसले आमालाई मृत्युको मुखमा पुर्‍यायो । 



आमा ९० वर्षकी हुँदासम्म उनको काखमा रमाउन सक्थ्यो, तर सुखका साथ पाल्छु भनेर ढाँट्यो र मन्द विष पिलाएर मार्‍यो । गजुरियल शैलीको यो रियल कथामा तपाईंलाई हार्दिक स्वागत छ ।
काठमाडौंमा उसको ठूलो घर थियो । घरमा आमाका लागि कुनै असुविधा थिएन । छुट्टै कोठा, कोठाभित्रै एट्याच बाथरुम, हेर्नका लागि ठूलो टिभी, सुत्नका लागि राम्रो पलङ, खानका लागि थरीथरीका परिकार, कुनै कुराको कमी थिएन । ऊ आमालाई धेरै माया गरेको मान्थ्यो तर आमा त्यो सुविधामा कहिल्यै खुशी भइनन् ।
बुहारी बिहान ७ बजे काममा जान्थिन् । छोरो बेलुका ९ बजे फर्कन्थ्यो । नाति–नातिना दिउँसो स्कुल जान्थे, बेलुका टिभी र गेममा भुल्थे । वल्लो घर, पल्लोघर सबैको एउटै अवस्था थियो । बोलचाल गर्ने मान्छे छैनन् । भित्तालाई सुनाउने कुरा भएन । डुले त्यही घर तल र माथि घुम्ने हो । घुमे उही कोठा भित्र र बाहिर गर्ने हो ।
एक दिन आमाले भाडामा बस्ने भानुसँग भनेकी थिइन्, ‘जुन दिन छोराले गाउँको सबै घरजग्गा बेच्यो, त्यही दिन मेरो मुटुको नशा चुँडिएको थियो । धेरै अनुरोध गरें । दिदीबहिनीहरू यतै छन् । फुपू, मामा, काका, भान्जाभान्जी सबै यहीं छन् । यही माटोमा मैले ५० वर्ष बिताएँ ।’


‘अब मलाई यहीं मर्न देऊ । सकुन्जेल आफैं गरेर खान्छु, नसकेका दिन दिदीहरूकहाँ जान्छु । तिमेरुलाई दु:ख दिन्नँ । बिन्ती, यो एउटा घर र एक कठ्ठा जग्गाचाहिँ नबेचौं, तर मेरो पुकारा एक कानले सुनेर अर्को कानले उडाइदिए ।’
आमाले त्यसो भनिरहँदा पल्लो कोठाबाट बुहारी भुत्भुताएकी थिई, ‘कुन्नी कल्लाई स्वर्ग जान्छस् भन्दा कुन्नि के पाइन्छ भन्थ्यो रे, त्यस्तै हो ।’ छोराले पनि स्वास्नीको हो मा हो मिलाएको थियो- ‘तपाईंलाई यहाँभन्दा काठमान्डौमा सुख हुन्छ । मर्ने बेलामा किन निहुँ खोजिरहनु ?’ छोराले पनि यसो भनेपछि उनको केही जोड चलेन । पतिले आफ्नै हातले बनाएको घर, पसिनाले सिंचेको जमिन, निर्माण गरेको सामाजिक सम्बन्धलाई सधैंका लागि छोडन् बाध्य भइन् । आँसुका ढिक्का पछ्यौराले छोप्दै आमा जुन दिन काठमान्डौ पसेकी थिइन्, त्यही दिनदेखि उनलाई डिप्रेसनको बिमारीले समातेको थियो ।

हुनत: काठमाडौंको घरमा आमालाई उच्चस्तरको भौतिक सुविधा थियो, तर शान्ति र आनन्द निम्नस्तरको पनि थिएन । एकोहोरो बोल्ने टिभी थियो, दोहोरो बात मार्ने छिमेकी थिएनन् । मायाले मिस्री दिँदा मुन्टो फर्काउने आफ्नै नाति–नातिना थिए, ‘अम्बक देऊ न आमै’ भनेर माग्ने छिमेकी बालबालिकाहरू थिएनन् । फलफूल आमाको कोठामा फुत्त फाल्दिएर सिरियल हेर्न थाल्ने बुहारी थिइन्, तर देख्नासाथ काखमा खेल्न आउने बाख्राको पाठो थिएन । प्राय: बाहिरैबाट खाना आएर आउने छोरो थियो, तर आमालाई देख्नासाथ ड्वाँ गरेर खोले माग्ने प्यारो गोरु थिएन । आमाको बिमारी बिस्तारै बढ्न थाल्यो
निन्द्रा लाग्न छोडेपछि आमाले एक दिन भनेकी थिइन्, ‘हौ छोरा, गाउँ जाँदा पो निन्द्रा लग्थ्यो कि । म ठूल्दीदिकहाँ बस्छु, त्यतै पठाइदे न । नाति–नातिनालाई कहिलेकाहीं घुम्म पठाइदेओ । दसैं–तिहारमा तिमीहरू पनि आइहाल्छौं । म पनि कहिलेकाहीं काठमाण्डु आउँदै–जाँदै गरौंला । दिदी–बैनीहरू पनि हामी टुहुरा भयौं आमा भन्दै थिए । त्यो एक कठ्ठा जग्गा र घरचाहिं फिर्ता लिऊँ बाबु ।’ आमाको कुरा नसकिंदै गाडी स्टार्ट गरेर उसले हप्काएको थियो, ‘तपाईंलाई सुख नपचेको हो कि हामीलाई दु:ख दिन खोजेको हो ? यहाँ चुप लागेर सुखले बस्नु न ।’
छोरो जेलाई सुख भन्थ्यो, आमाको दु:खको मूल कारण त्यही थियो । वल्लो घर, पल्लो घर, टोल–छिमेक, खेत–बारी, कुटो–कोदालो, कीर्तन, सांगे, छोरी, ज्वाइँ, सम्धी, आफन्त, आमा यसैमा रमाउँथिन्, जुन कुरा सहरमा थिएन । अलि–अलि घुँडा दुखे पनि उनको सुख यही गाउँघर थियो । छोरा–बुहारीले पठाइदिएको १०–२० हजारले राम्रै खर्च चल्थ्यो । भर–अभर सघाउने छिमेकी छँदै थिए, तर यी सबै सुख छोडेर सधैंका लागि सहर पसेपछि उनको मुहारमा कहिल्यै हाँसोको संकेत देखिएन ।
आमालाई डिप्रेसन भएपछि लामो समयसम्म औषधी ख्वाउनुपर्‍यो । औषधीका कारण शरीर कमजोर हुँदै गयो । कमजोर शरीरले कलेजो र किड्नीलाई हान्यो । सुगर बढ्यो, प्रेसरले समात्यो । आमा कोठामा साँघुरिइन् । एकोहोरो टोलाउँथिन् । रुन खोज्थिन्, आँसु आउँदैनथे । डाक्टरले केस सिरियस भएको र अब धेरै आशा नगर्न सुझाव दिएपछि आमाको संसार काठमान्डौको घरबाट कोठामा साँघुरिएको थियो ।
एकपटक ठूली छोरीको अनुहार हेर्छु भनिन् । उसले दिदीलाई प्लेनबाट काठमान्डौ बोलायो । किनभने उनीहरू (श्रीमान्–श्रीमती)लाई मलेसिया भिजिटको चिठ्ठा परेको थियो । मृत्यु कुरिरहेकी आमालाई ठूल्दिदीको साथ छोडेर उनीहरू ठूलो चिलगाडीबाट मलेसिया हुंईकिए ।

सातदिने मलेसिया भिजिट सकेर क्वालालम्पुर एयरपोर्टबाट काठमान्डौ उडे । त्रिभुवन इन्टरनेसनल एयरपोर्टमा झरेर मोबाइलको स्विच अन गर्नासाथ दिदीको भक्कानिएको आवाज आयो, ‘सोझै आर्यघाट आउनु !’
आर्यघाटमा पुगेर आमालाई दागबत्ती दिएपछि ऊ मलाई अँगालो मार्दै भक्कानियो । मैले सान्त्वना दिएँ— ‘नरो यार, सृष्टिको नियम नै यही हो ।’ उसले भन्यो, ‘तर मैले सृष्टिको नियम उल्लंघन गरें, जसका कारणले मेरी आमाको २० वर्ष छिटो मृत्यु भयो । सुख दिने नाममा मैले आमालाई दु:खको भवसागरमा ल्याएर अनजानमा आमा मारें, म मातृहत्यारा हुँ ।’ मैले सझाएँ, ‘अब ग्लानि गरेर केही हुँदैन । यही आशा गर् कि तेरो यो कथा अरू सहरिया छोराछोरीका लागि एउटा शिक्षा बनोस् । सबैले बुझून्— पितृ प्रसाद बेचेर सहर पस्दैमा पितृ खुसी हुँदैनन् ।’


कबिता-मेरो कलमले घुँडा टेक्दैन



अाउँदो चुनावमा टिकट पनि लिनु छैन
राजदूतको पगरी गुथ्न निवेदन पनि दिनु छैन
न ठेक्का पट्टा र दलाली गर्नु छ
न पासपोर्ट बनाएर समुद्र तर्नु छ
न कुनै संस्थाको ठूलै पद हत्याउनु छ
न कुनै ठूलठूला संस्थाको पुरस्कार नै पाउनु छ
साँचो र यथार्थ लेख्छ झुटो मरे लेख्दैन
मेरो कलमले घुँडा टेक्दैन

कसैको प्रशंसा गर्दैन लम्पसार पनि पर्दैन
केही लिनु छैन र त चाप्लुसी गर्दै गर्दैन
न श्रापमा बिस्वास गर्छ न बरदानमा बिस्वास गर्छ
श्रम, पौरख , कर्तब्य र स्वाभिमानमा बिस्वास गर्छ
कसैलाई रिझाएर बक्सिस थाप्न चाहँदैन
पद पैसा र प्रतिष्ठाको उचाई नाप्न चाहँदैन
जे हो त्यही देख्छ नभएको देख्दैन
मेरो कलमले घुँडा टेक्दैन

सामान्य नागरिक बन्नुमै अानन्द मान्छ
सानाहरुलाई सर्वदा महान ठान्छ
शहीदको नाम बेचेर दाम कमाउनेलाई धिक्कार्छ
देशलाई चुँड्दै ठूलो हूँ भनी रमाउनेलाई धिक्कार्छ
छेपारोले जस्तै रङ बदल्ने जालीहरुलाई
बिचार बेचेर रित्तिएका खालिहरुलाई
हजुर हजुर भनेर हात जोडी बाटो छेक्दैन
मेरो कलमले घुँडा टेक्दैन

रोचक जानकारी

मान्छेको शरिरिक तन्दुरुस्तीले मानिसको धेरै कुरामा सकारात्मक असर गर्छ । तथापि तलका कुरा पनि महत्त्वपूर्ण छन:


१. बियरले चिसोबाट बचाउँछ
सन् २०१२ को डिसेमबरमा एउटा जापानी बियर कम्पनी साप्पोरो ब्रुअरीले एउटा अनौठो तथ्य सार्वजनिक ग¥यो । अनुसन्धानको निष्कर्ष भन्दै सार्वजनिक गरेको तथ्यअनुसार धेरै बियर खाएमा त्यसमा भएका पदार्थले युवाहरुलाई चिसोबाट बचाउनुका साथै निमोनिया र ब्रोङकाइटिस जस्ता गम्भीर समस्याबाट बचाउँछ । बियरको तितो स्वादले श्वासप्रश्वासम्बन्धी भाइरस फैलनबाट समेत रोक्ने दाबी कम्पनीले गरेको थियो ।

२.नोबेल पुरस्कार जित्न धेरै चकलेट खानुहोस्: 



सन् २०१२ मै एक अमेरिकी वैज्ञानिक डा. फ्रान्ज एच मेसेर्लीले नोबेल पुरस्कार जित्नेको संख्या र अमेरिकामा चकलेट सेवनबीच प्रत्यक्ष सम्बन्ध रहेको तथ्य सार्वजनिक गरे । उनको दाबी थियो, चकलेटले व्यक्तिको ज्ञानलाई बढाउँछ ।

३. फूर्तिलो तरिकाले हिड्नाले हृदयाघातको खतरा घटाउँछ:
डेनमार्कका वैज्ञानिकले फूर्तिलो तरिकाले हिड्नाले हृदयाघातको खतरालाई ४० प्रतिशत घटाउने सार्वजनिक गरे । ब्रिटिश हर्ट फाउण्डेशनका सिनियर कार्डियक नर्स मौरिन टेल्बटले भनेकी छन्, फूर्तिलो तरिकाले जगिङ गर्नाले र हिड्नाले मुटुको चाल तीब्र हुन्छ र मुटुको मांसपेशीको अभ्यास हुनछ, हामीले यस्तो अभ्यासलाई दिनहुँ गर्नुपर्छ ।’
४. इन्भेष्टमेन्ट ब्याङकिङ स्वास्थ्यका लागि खतरा:
युनिभर्सिटी अफ साउद्रन क्यालिफोर्नियाका अनुसन्धानकर्ताले एउटा अर्को अनौठो तथ्य सार्वजनिक गरे । ती अनुसन्धानकर्ताको दाबी थियो, इन्ट्री लेभलका इन्भेष्टमेन्ट ब्याङकरहरु अनिद्रा, घबराहटजस्ता समस्याबाट पीडित हुन्छन् । यस्तै, अधिकांश अनुभवी ब्याङकरहरु तनावसम्बन्धी समस्याबाट पीडित भएको पनि पाइएको थियो ।
५. अण्डोको पहेंलो भाग धूमपानभन्दा खतरनाक:
सन् २०१२ मा युनिभर्सिटी अफ वेस्टर्न ओन्तारियोका अनुसन्धानकर्ताले अण्डाको पहेंलो भाग खानु मुटुका लागि चुरोट पिउनुभन्दा बढी खतरनाक रहेको निष्कर्ष निकाले । उनका अनुसार पहेलों भागले मुटुका धमनीहरुलाई कडा बनाउँछ, जसलाई अथेरोस्केलोरोसिस भनिन्छ ।
६. कफीले छालाको क्यान्सरको खतरालाई कम गर्छ:
सन् २०११ मा भएको एक अध्ययनले दिनहुँ ६ कपभन्दा बढी कफी पिउने महिलालाई छालाको क्यान्सर हुने सम्भावना कम हुने देखाएको थियो । कफीमा भएको एन्टिअक्सिडेन्टले छालाका कोषलाई सुरक्षा दिन्छ र क्यान्सर लाग्न नदिने दाबी अनुसन्धाकर्ताको थियो ।
७. धनी मानिस बढी झुट बोल्छन्
सन् २०१२ मा
मनोविज्ञहरुले सामाजिक अवस्थाले मानिसको व्यवहारमा के परिवर्तन ल्याउँछ भनने अनुसन्धान गरेका थिए । जसमा पत्ता लाग्यो, बढी कमाउने मानिसहरु तल्ला वर्गका मानिसहरुको तुलनामा ठगी गर्ने, झुटा बोल्ने र अनैतिक क्रियाकलापमा संलग्न हुन्छन् । यस्तो अध्ययन युनिभर्सिटी अफ टोरन्टो र युनिभर्सिटी अफ क्यालिफोर्निया बर्कलीका मनोविज्ञहरुले गरेका थिए ।
८.आँखाको नानीले मानिसको सेक्ससम्बन्धी व्यवहार संकेत गर्छ:
सन् २०१२ मा भएको एक अध्ययनले मानिसको यौन व्यवहार उसको आँखाको नानीको फैलावटले संकेत गर्ने पत्ता लगाएको थियो । ३ सय २५ जना पुरुष समलिंगी, बायोसेक्सुअल र साधारण मानिसमा यसबारे अध्ययन गरिएको थियो ।
९. डाइटिङले तौल बढाउँछ
डाइटिङले तौल घटाउँछ भन्ने प्रायः मानिसको विश्वास हुन्छ । तर, सन् २०१२ मै भएको एक अध्ययनले डाइटिङले तौल घटाउँने देखिएको थियो । डाइटिङका कारण हर्मोन, मोटोबोलिजम, दिमागलाई परिवर्तन गर्ने भएकाले मोटोपनमा वृद्धि हुने तथ्य बाहिर ल्याइएको थियो ।
१०. हात्तीले ऐना हेर्न सक्छन्
अमेरिकी अनुसन्धानकर्ताहरुले गरेको अनुसन्धानमा हात्तीले ऐना हेर्न सक्ने पत्ता लागेको थियो । अनुसन्धानकर्ताहरुले आफूलाई चिन्न सक्छन् कि सक्दैनन् भन्ने पत्ता लगाउन
तीन हात्तीलाई ठूलो ऐना दिए । त्यसमध्ये एउटा हात्तीले बारम्बार ऐनामा आफ्नो टाउकोमा लेखिएको सेता चिन्ह छुन खोज्यो । हात्तीले ऐनाअगाडि यताउता चलेर आफू कस्तो देखिन्छु भनेर हेर्न चाहेका थिए भनेर पनि अनुसन्धानकर्ताले दाबी गरे ।