कसरी बढाउने पढाइमा रुचि ?



अचेल धेरै साथीको गुनासो हुन्छ– किन हो मलाई त पढ्नै मन लाग्दैन  ? म त परीक्षा आएपछि मात्रै पढ्ने हो । अब त पढ्छु भन्यो, दिमागमा बसे पो ! धेरैको मनमा यस्तै कुराहरू खेलिरहेको हुन्छ । मनोवैज्ञानिकहरूले यसो हुनुका केही कारण पत्ता लगाएका छन् । ती कारण बुझेर अघि बढ्न सके पढाई झर्कोलाग्दो हुँदैन । परीक्षामा हाउगुजी बन्दैन । पढ्न मन लगाउने १० मुख्य उपाय यस्ता छन्–
१. केन्द्रित हुने : हामी जुन विषय पढिरहेका हुुन्छाँै, त्यसमै केन्द्रित हुनुपर्छ । गणितका समस्या समाधान गरिरहेका बेला मनमा अंग्रेजीको कुरा खेलाउनुहुन्न । नेपालीको समयमा गणित या विज्ञानको चिन्ता लिनुभएन । एक पटक या एकै समयमा धेरै विषयलाई मनमा स्थान दिनुहुन्न । जे पढिरहेको हो त्यसैमा मात्र केन्द्रित हुनु पर्छ ।
 २. पकड राख्ने : कुनै विषयमा पकड कमजोर छ भने त्यो विषयमा अझ धेरै ध्यान दिनुपर्छ । हामी त्यो विषय पढ्न बढी रुचाउँछौँ जुन राम्ररी आउँछ । पकड भएको विषय राम्ररी बुझ्न सक्छौँ । त्यसमा अंक पनि राम्रै आएको हुन्छ । आफूले रुचाएको विषय पढ्दा समय बितेको पत्तै हुन्न । त्यसैले कमजोर विषयमा आफ्नो पकड बढाउने प्रयास गर्नुपर्छ । 
३. रुचि बढाउने : कुनै विषयमा रुचि छैन भने त्यसमा रुचि जगाउनुपर्छ । रुचि नभएको विषयमा रुचि बढाउन ४–५ दिन नियमपूर्वक लगातार अभ्यास गर्नुपर्छ । सुरु–सुरुमा यसो गर्दा दिक्क लाग्न सक्छ । तर त्यो अवधिभरिमा थोरै मात्र रुचि बढ्यो भने त्यो पहिले नरुचाएको विषय पनि रुचिकर लाग्न सक्छ ।



४. सीमित किताब : पढ्ने टेबल, खाट या भुइँमा सबै विषयको पुस्तक छरपष्ट राख्नु हुँदैन । जुन विषय पढ्ने हो त्यो मात्रै राख्नुपर्छ । बाँकी र्‍याक या झोलामै रहन दिनुपर्छ । सबै विषयका धेरै किताब छेउमै छ भने यो पढौं कि त्यो भन्ने लाग्न सक्छ । गृहकार्य गर्दा पनि सम्बन्धित विषयलाई मात्रै आफ्नो टेबलमा राख्नुपर्छ । एउटा सकिनेबित्तिकै अर्को निकाल्नुपर्छ । पढ्ने कोठा अस्तव्यस्त बनाउनुहुन्न । 
५. निश्चित समय : पढ्ने निश्चित समय हुनुपर्छ । जुनसुकै किताब जुनसुकै झोला या र्‍याकबाट निकालेर पढ्ने बानी खासै प्रभावकारी होइन । यसले एकाग्र हुन सकिन्न । पढाइको एउटा निश्चित क्रम हुनुपर्छ । बरु यसका लागि एउटा टाइम– टेबल बनाउन सकिन्छ । त्यसैका आधारमा पढे पढाइ नियमित हुन सक्छ । 
६. लक्ष्य निर्धारण : निश्चित लक्ष्यबिनाको पढाइ पनि बोझिलो हुन सक्छ । लक्ष्य नै निर्धारित छैन भने गन्तव्यमा कसरी पुग्न सकिन्छ ? कुन विषय पढ्ने अनि त्यो पढेर के बन्ने भन्ने निर्धारण गर्न नसक्नाले पनि पढाइमा रुचि नलागेको हुन सक्छ । त्यसैले पढ्नुअघि लक्ष्य विचार गर्नु महत्त्वपूर्ण छ। 
७. सञ्चारका प्रविधि : अहिलेको डिजिटल युगमा हरेक समय हामी मोबाइल फोन, ट्याबलेट, ल्यापटप लगायतले घेरिएका हुन्छाँै । यीमध्ये खासगरी मोबाइल फोनले हाम्रो ध्यानलाई अन्यत्र मोडिदिन्छ । फोनमा कुनै कुरा नआए पनि छिटोछिटो हेर्न मन लाग्छ । फेसबुकमा साथीसँग च्याट गर्न मन लाग्छ । मोबाइल गेम खेल्न मन हुन्छ । यी सबैले पढाइलाई चौपट पार्छन् । त्यसैले पढ्ने बेला यी उपकरणबाट टाढै बस्नुपर्छ । सम्भव भए फोन अफ गरिदिनुपर्छ । 
८. साथीसंगत : साथीको सही कुरालाई समर्थन गर्नुपर्छ । गलतलाई ‘नाइँ’ भन्न सक्नुपर्छ । पढाइमा रुचि राख्नेलाई साथी बनाउनुपर्छ । गलत गतिविधिमा लागेकासँग टाढै बस्नुपर्छ । यदि यसो नगरिए दौतरीको दबाबमा गलत क्रियाकलापमा पनि लाग्न सकिन्छ । अनि स्वत: पढाइको स्तर खस्किन्छ । 
९. प्रेरणा : प्रेरणाले हामीलाई सफलताका लागि नयाँ ऊर्जा प्रदान गर्छ । हाम्रा वरपर संघर्ष गरेर सफल भएका मानिस प्रशस्तै भेटिन्छन् । तिनीहरूबारे थाहा पाउँदा हामीलाई प्रेरणा प्राप्त हुन सक्छ । आफ्नै अभिभावकका संघर्षका कुरालाई पनि शिक्षाका रूपमा लिन सकिन्छ । सफल व्यक्तिका जीवनी पढ्नुपर्छ ।
 १०. खास रुचि : जुन विषयमा आफ्नो ज्यादा रुचि छ, हामी त्यसैतर्फ बढी अग्रसर हुनुपर्छ । सिर्जनात्मक क्षेत्रमा रुचि छ भने त्यसलाई पढाइसँग जोडेर अघि बढ्नुपर्छ । आफ्नो रचनात्मकतालाई पढाइको विषयमा पनि लागू गर्न सकिन्छ । कलामा रुचि छ भने चित्र बनाएर पढ्न सकिन्छ । नृत्यमा रुचि छ भने नाच्दै कठिन पाठ सम्झन सकिन्छ । पढाइसँगै अन्य रुचिकर विषयलाई पनि अगाडि बढाउन सकिए झनै राम्रो हुन्छ ।
-:साभार-कान्तिपुर दैनिक

बन्ने भयो अन्तराष्ट्रीय कृकेट रंगशाला


माघ १५ –  भरतपुर चितवनमा अन्तर्राष्ट्रियस्तरको क्रिकेट रङ्गशाला बन्ने तय भएपछि देशसंगै चितवनबासीले गर्व महसुस गरिरहेका छन् । धुर्मुस–सुन्तली फाउण्डेशनले निर्माण गर्न लागिरहेको क्रिकेट रङ्गशाला निर्माणको सम्पुर्ण तयारी पुरा भएको छ । उक्त रङ्गशालाको औपचारिक घोषणा भोली (बुधबार)  काठमाडौंको राष्ट्रिय सभागृह, भृकुटीमण्डपमा प्रधानमन्त्री केपी शर्मा ओलीले गर्दैछन् । चितवनमा देशकै पहिलो अन्तर्राष्ट्रिय मापदण्डको बहुउद्देश्यीय, मौलिक, गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माण हुन लागेको हो । सोही कार्यक्रममा फाउण्डेशन र भरतपुर महानगरपालिकाबीच सहमतिपत्रमा हस्ताक्षर समेत गरिँदै छ ।

फाउण्डेशनका अध्यक्ष सीताराम कट्टेल (धुर्मुस) का अनुसार महानगरपालिकाले उपलब्ध गराउने २० बिघा छ कठ्ठा जग्गामा रंगशाला बन्नेछ । रंगशालामा क्रिकेटसँगै अन्य विधाका खेलहरू पनि खेल्न सकिने गरी निर्माण गरिने छ । सो रंगशालालाई एकेडेमिका रूपमा विकास गरिने लक्ष्य राखिएको छ ।सो जग्गा रंगशाला निर्माणका लागि दुई विश्वविद्यालय र भरतपुर महानगरपालिकाबीच यस अघि नै सम्झौता भइसकेको छ । सामाजिक क्षेत्रमा सक्रिय फाउण्डेशनले नेपालमा रंगशाला निर्माण गर्ने जनाएसँगै स्वदेशी र विदेशी नेपालीहरू उत्साहित भएका थिए । कतिपय देशमा रङ्गशाला निर्माणका लागि रकम सङ्कलन समेत थालिएको थियो ।

औपचारिक घोषणा र सम्झौतापछि स्वदेश र विदेशमा रहेका नेपालीसँग आर्थिक सहयोग जुटाइनेछ ।सरकार र जनताको सहभागितामा अन्तर्राष्ट्रियस्तरको पहिलो रङ्गशाला नेपालमा बन्ने भएको हो ।  रङ्गशालाको गुरुयोजना बन्दै गरेकाले के कति खर्च र समय लाग्ने भन्ने विषय घोषणा कार्यक्रममा नै गरिनेछ ।राष्ट्रिय गौरवको यस अभियानमा सबैलाई साथ र सहयोगको लागि फाउण्डेशनले आह्वान गर्दै आएको छ ।

कलाकारिताबाट समाजसेवामा लाग्नुभएका कट्टेलको नेतृत्वको फाउण्डेशनले यस अघि एकीकृत नमूना प्रहरी बस्ती काभ्रे, एकीकृत नमूना गिरानचौर बस्ती सिन्धुपाल्चोक, एकीकृत नमूना मुसहर बस्ती महोत्तरी र एकीकृत नमूना सन्तपुर बस्ती रौतहट निर्माण गरिसकेको छ । ती बस्तीमा ३२० बढी परिवार बसोबास गर्दै आएका छन् ।यी अभियान पुरा भएसंगै फाउण्डेशनले क्रिकेटमा भईरहेको उपलब्धीलाई हेर्दे क्रिकेट रंगशाला निर्माणका लागि प्रक्रिया अगाडी बढाएको थियो ।


कृपया सक्दो सेयर गरिदिनुहोला ।
गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला घोषणा
धुर्मुस सुन्तली फाउण्डेशन मार्फत भरतपुर चितवनमा देशकै पहिलो अन्तर्राष्ट्रिय मापदण्डको बहुउद्देश्यीय, मौलिक, गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण गर्ने अठोट लिएका छौं । सो को भोली ठिक १:३० बजे राष्ट्रिय सभागृह, भृकुटीमण्डप बाट घोषणा गर्दैछौं । सम्पुर्ण शुभचिन्तक, सहयोगी मन, सञ्चारकर्मी महानुभावहरुलाई उक्त ऐतिहासीक समारोहमा उपस्थितीको लागि सादर निमन्त्रणा गर्दछौं ।
‘सम्बृद्धि सम्भव छ हाम्रै पाला, बनाऔं मिलि अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला’
‘राष्ट्र निर्माण, तपाई हाम्रो अभियान’
धुर्मुस सुन्तली फाउण्डेशन