गजल



तिमीले छिद्रा नपारेको भए निष्ठुरी बनेर।
यो बाँस बज्ने थिएन अाज मुरली बनेर।

छातीभरि बालुवा  थुपारेर फर्किएछन्,
जो अाएका थिए बगाउँछु भन्दै बाढी बनेर।

तिम्रो हेराइले लाग्यो -केही त  छ मभित्र,
अाफैलाई हेर्ने मन भयो एकपटक तिमी बनेर।

तिमी अाए थ्यौ मुहारमा पिम्पल अाएजस्तो,
बेइमान सम्झना अाइदियो जुँगारेखी बनेर।

कोसेलीमा जरुर जून तारा त ल्याउनु भयो ,
दिन हुनुहुन्थ्यो तर अाउनुभयो राति बनेर।

© कृष्णप्रसाद अर्याल

प्रदिप दाइ यो गजल हो कि आगो🔥🔥??



प्रदिप दाइको यो गजल हो कि आगो🔥🔥??

काख रित्तिएकी आमा रोइरहन्छिन पिर लिएर!
सरकार सालिक खोज्दै हिँड्छ अबिर लिएर!

सिँढी छेउमा बा भोको पेट छाम्दै बसिरहेछन्,
छोरो त्यही बाटो मन्दिर छिर्यो खिर लिएर!

फर्किँदा ऊ दुष्मनको पाइजामा बोकेर आयो,
जाने बेलामा आउँछु भन्थ्यो काटेको शिर लिएर

मेरै प्रेमिका लिएर मुस्कुराउँदै हिँडेको छ ऊ,
म रुँदै हिँडेको छु उनको पुरानो तस्बिर लिएर!

अरुको कृपामा बाँच्नुपरेको छैन तिमीले झैँ,
कमसेकम म बाँचेको छु आफ्नै तक्दिर लिएर!


प्रदीप रोदन

ग़ज़ल—शहिद दिवस



सहिदको बलिदानको उपहास नहोस्
आन्दोलनको उपलब्धि जुवातास नहोस्

गरिब-धनी बीचको खाडल गहिरिंदै छ अझै
समानताको नारा केबल बकबास नहोस्

थामिएनन् असहायका आंखाबाट बग्न आंसु
बिपन्नलाइ भोको नाङ्गो आभास नहोस्

आधुनिकताको नाउँमा भित्रिंदैछ छाडापन
आफ्नै रीति संस्कृतिको बिनास नहोस्

विकास र समृद्धि तर्फ बढ्नु पर्छ सरकार
केहि गर्न नसक्ने जिउँदो लास नहोस्

—मुकुन्द पौडेल

कसरी बढाउने पढाइमा रुचि ?



अचेल धेरै साथीको गुनासो हुन्छ– किन हो मलाई त पढ्नै मन लाग्दैन  ? म त परीक्षा आएपछि मात्रै पढ्ने हो । अब त पढ्छु भन्यो, दिमागमा बसे पो ! धेरैको मनमा यस्तै कुराहरू खेलिरहेको हुन्छ । मनोवैज्ञानिकहरूले यसो हुनुका केही कारण पत्ता लगाएका छन् । ती कारण बुझेर अघि बढ्न सके पढाई झर्कोलाग्दो हुँदैन । परीक्षामा हाउगुजी बन्दैन । पढ्न मन लगाउने १० मुख्य उपाय यस्ता छन्–
१. केन्द्रित हुने : हामी जुन विषय पढिरहेका हुुन्छाँै, त्यसमै केन्द्रित हुनुपर्छ । गणितका समस्या समाधान गरिरहेका बेला मनमा अंग्रेजीको कुरा खेलाउनुहुन्न । नेपालीको समयमा गणित या विज्ञानको चिन्ता लिनुभएन । एक पटक या एकै समयमा धेरै विषयलाई मनमा स्थान दिनुहुन्न । जे पढिरहेको हो त्यसैमा मात्र केन्द्रित हुनु पर्छ ।
 २. पकड राख्ने : कुनै विषयमा पकड कमजोर छ भने त्यो विषयमा अझ धेरै ध्यान दिनुपर्छ । हामी त्यो विषय पढ्न बढी रुचाउँछौँ जुन राम्ररी आउँछ । पकड भएको विषय राम्ररी बुझ्न सक्छौँ । त्यसमा अंक पनि राम्रै आएको हुन्छ । आफूले रुचाएको विषय पढ्दा समय बितेको पत्तै हुन्न । त्यसैले कमजोर विषयमा आफ्नो पकड बढाउने प्रयास गर्नुपर्छ । 
३. रुचि बढाउने : कुनै विषयमा रुचि छैन भने त्यसमा रुचि जगाउनुपर्छ । रुचि नभएको विषयमा रुचि बढाउन ४–५ दिन नियमपूर्वक लगातार अभ्यास गर्नुपर्छ । सुरु–सुरुमा यसो गर्दा दिक्क लाग्न सक्छ । तर त्यो अवधिभरिमा थोरै मात्र रुचि बढ्यो भने त्यो पहिले नरुचाएको विषय पनि रुचिकर लाग्न सक्छ ।



४. सीमित किताब : पढ्ने टेबल, खाट या भुइँमा सबै विषयको पुस्तक छरपष्ट राख्नु हुँदैन । जुन विषय पढ्ने हो त्यो मात्रै राख्नुपर्छ । बाँकी र्‍याक या झोलामै रहन दिनुपर्छ । सबै विषयका धेरै किताब छेउमै छ भने यो पढौं कि त्यो भन्ने लाग्न सक्छ । गृहकार्य गर्दा पनि सम्बन्धित विषयलाई मात्रै आफ्नो टेबलमा राख्नुपर्छ । एउटा सकिनेबित्तिकै अर्को निकाल्नुपर्छ । पढ्ने कोठा अस्तव्यस्त बनाउनुहुन्न । 
५. निश्चित समय : पढ्ने निश्चित समय हुनुपर्छ । जुनसुकै किताब जुनसुकै झोला या र्‍याकबाट निकालेर पढ्ने बानी खासै प्रभावकारी होइन । यसले एकाग्र हुन सकिन्न । पढाइको एउटा निश्चित क्रम हुनुपर्छ । बरु यसका लागि एउटा टाइम– टेबल बनाउन सकिन्छ । त्यसैका आधारमा पढे पढाइ नियमित हुन सक्छ । 
६. लक्ष्य निर्धारण : निश्चित लक्ष्यबिनाको पढाइ पनि बोझिलो हुन सक्छ । लक्ष्य नै निर्धारित छैन भने गन्तव्यमा कसरी पुग्न सकिन्छ ? कुन विषय पढ्ने अनि त्यो पढेर के बन्ने भन्ने निर्धारण गर्न नसक्नाले पनि पढाइमा रुचि नलागेको हुन सक्छ । त्यसैले पढ्नुअघि लक्ष्य विचार गर्नु महत्त्वपूर्ण छ। 
७. सञ्चारका प्रविधि : अहिलेको डिजिटल युगमा हरेक समय हामी मोबाइल फोन, ट्याबलेट, ल्यापटप लगायतले घेरिएका हुन्छाँै । यीमध्ये खासगरी मोबाइल फोनले हाम्रो ध्यानलाई अन्यत्र मोडिदिन्छ । फोनमा कुनै कुरा नआए पनि छिटोछिटो हेर्न मन लाग्छ । फेसबुकमा साथीसँग च्याट गर्न मन लाग्छ । मोबाइल गेम खेल्न मन हुन्छ । यी सबैले पढाइलाई चौपट पार्छन् । त्यसैले पढ्ने बेला यी उपकरणबाट टाढै बस्नुपर्छ । सम्भव भए फोन अफ गरिदिनुपर्छ । 
८. साथीसंगत : साथीको सही कुरालाई समर्थन गर्नुपर्छ । गलतलाई ‘नाइँ’ भन्न सक्नुपर्छ । पढाइमा रुचि राख्नेलाई साथी बनाउनुपर्छ । गलत गतिविधिमा लागेकासँग टाढै बस्नुपर्छ । यदि यसो नगरिए दौतरीको दबाबमा गलत क्रियाकलापमा पनि लाग्न सकिन्छ । अनि स्वत: पढाइको स्तर खस्किन्छ । 
९. प्रेरणा : प्रेरणाले हामीलाई सफलताका लागि नयाँ ऊर्जा प्रदान गर्छ । हाम्रा वरपर संघर्ष गरेर सफल भएका मानिस प्रशस्तै भेटिन्छन् । तिनीहरूबारे थाहा पाउँदा हामीलाई प्रेरणा प्राप्त हुन सक्छ । आफ्नै अभिभावकका संघर्षका कुरालाई पनि शिक्षाका रूपमा लिन सकिन्छ । सफल व्यक्तिका जीवनी पढ्नुपर्छ ।
 १०. खास रुचि : जुन विषयमा आफ्नो ज्यादा रुचि छ, हामी त्यसैतर्फ बढी अग्रसर हुनुपर्छ । सिर्जनात्मक क्षेत्रमा रुचि छ भने त्यसलाई पढाइसँग जोडेर अघि बढ्नुपर्छ । आफ्नो रचनात्मकतालाई पढाइको विषयमा पनि लागू गर्न सकिन्छ । कलामा रुचि छ भने चित्र बनाएर पढ्न सकिन्छ । नृत्यमा रुचि छ भने नाच्दै कठिन पाठ सम्झन सकिन्छ । पढाइसँगै अन्य रुचिकर विषयलाई पनि अगाडि बढाउन सकिए झनै राम्रो हुन्छ ।
-:साभार-कान्तिपुर दैनिक