गजल :- तिमी छौ, भन्ने भान; कहिले हुन्छ सरकार ?



तिमी छौ, भन्ने भान; कहिले हुन्छ सरकार ?
खाडी उड्ने रित्तो उडान; कहिले हुन्छ सरकार ?

राहदानी फाल्दिदैमा; शासक बनिन्छ र !
नागरिकको सच्चा प्रमाण; कहिले हुन्छ सरकार ?

गोर्खे र बहादुर भै; कति झुक्नु सँधै
हाम्रो देशमा श्रम गुणगान; कहिले हुन्छ सरकार ?

चाटु,चम्चे राडीमा छन्; युवा खाडीमा छन्
नातावादको समाधान; कहिले हुन्छ सरकार ?

रगतका प्यासीहरु; फेरी यूद्ध भन्छन
बन्दुक भन्दा कलम महान; कहिले हुन्छ सरकार ?

के गर्नु त्यो संबिधानले; धानै नफले'सी !
हिउद बर्षा मल प्रदान; कहिले हुन्छ सरकार ?

सुनको भाउ जहाँ पूगोस; नुनको खबर के छ?
कर्णालीको स्तर उठान; कहिले हुन्छ सरकार ?

हाम्रा पनि आमा-बाबु,जहान-बच्चा छन् नि!
एउटै चुल्हो,एउटै सिरान; कहिले हुन्छ सरकार?

जे.सागर
पेप्सीकोला,काठमाडौँ
हाल:आबुधाबी(यु.ए.इ.)

This poem touched me very much...

धुर्मुस सुन्तलीद्धारा तेश्रो बस्ती निर्माणको घोषणा

हाँस्य कलाकार सिताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली) ले तेश्रो एकिकृत बस्ती निर्माण गर्ने घोषणा गरेका छन् ।
एक भिडियो सार्वजनिक गर्दै उनीहरुले मानवता र सद्भावका लागि सहकार्य गरेर साथ दिन सम्पूर्ण सहयोगी मनसँग अपील समेत गरेका छन् । भूकम्प पिडितका लागि दुईवटा एकिकृत नमूना बस्ती निर्माण सम्पन्न गरीसकेको धुर्मुस सुन्तली फाउण्डेशनले बर्दिबास २, महोत्तरीमा एकिकृत नमूना मुसहर बस्ती निर्माण गर्ने घोषणा गरेको हो ।
गएको वर्ष सरसफाईका क्रममा धुर्मुस सुन्तली उक्त बस्तीमा पुगेका थिए । चरम गरिबीको चपेटामा रहेका मुसहर दाउरा बेचेर जिविकोपार्जन गर्दै आएका तराइको पिछडिएको जातिमा पर्छन । शितलहरबाट पिल्सीएका मुसहरको दर्दनाक अवस्था देखेका उनीहरुले गएको वर्ष धुर्मुस सुन्तलीले न्यानो वितरण समेत गरेका थिए । भूकम्प पिडितलाई पहिलो प्राथमिकतामा राख्दै एकिकृत बस्ती निर्माण गरेका उनीहरुले तराईमा मानवता र सद्भावका लागि काम गर्न लागेको बताएका छन् ।
गाँस, बास र कपासको समेत समस्या रहेको मुसहर बस्तीमा आफुहरु पुगेपछि अहिले निकै परिर्वतन देखा परिसकेकाले ५० परिवार मुसहरलाई उपहारस्वरुप घर प्रदान गर्न लागिएको फाउण्डेशनका अध्यक्ष सिताराम कट्टेलले बताएका छन् । उनी भन्छन्, ‘स्वास्थ्य, शिक्षा, सरसफाईमा निकै पछि रहेको मुसहर बस्तीलाई बालमैत्री, शिक्षित र सरसफाईयुक्त बनाउन सक्नु ठूलो परिर्वतन  हो, त्यो उपलब्धी हाँसिल गर्नका लागि पहिलेजस्तै सबैको सहयोगको आवश्यकता छ ।’



गजल

स्वदेशमै जीविका गरेकैमा खुसी छु
सुख दुख दुबै छाक टरेकैमा खुसी छु
कमाउने रहर कसलाई पो हुन्न र?
मेहनत गरी घरमा मानो भरेकैमा खुसी छु
बाध्यताले बिदेसिने दाजुभाइको पीडा सुन्दा
परेदेशतिर जाने इच्छा मरेकैमा खुसी छु
ठुलाबडाको कमाउने फोहरी धन्दा देख्दा खेरी
सर्बसधारण नागरिकभित्र परेकैमा खुसी छु
कहिलेकाहीँ पुर्खाको थलो याद आए पनि
पहाडबाट मधेशतिर झरेकैमा खुसी छु

मुकुन्द पौडेल
चितवन

गजल


सबैलाई थाहा छ कि त्यो फुल हो
बारम्बार दोहोरिने     त्यो भुल हो।।

.....
जुनि जुनि,  सगै मर्ने   सगै बाच्ने
पिरतिमा  गरिने    त्यो कबुल हो ।।

.....
नसोच तिमिले आन्धा छैनन कोहि
पाप लाई   मेटाउने  त्यो त्रिशुल हो ।।

.....
कहाँ पाउँछन्  र    सोचेको सबैले
जे जे पायौ कर्मको त्यो अशुल हो।।

.....
बाच्न का लागि   गरिएको यात्रामा
मात्र आँसु र खुशी को त्यो पुल हो।।

प्रकाश आचार्य
चैनपुर-२,चितवन 

कबिता

आउनुस् न दाजै,
यसपालि एउटा रंगहीन कविता लेखौं,
कति लेख्नु राता मान्छेका कथा !
कति लेख्नु सेता मान्छेका कथा !
फलानो ट्राभल्स र रेष्टुरेन्टको प्रायोजनमा
अघोषित जय नेपाल र लाल सलामको मुठ्ठीभित्र च्यापिएर !
कति लेख्नु प्रायोजित कविता !
आउनुस् यसपालि ,
एभरेस्ट होटलको डबलीमा नचढिकन,
इम्पेरियल स्विट होटलको आठौं तलामा नउक्लिकन,
बर दुबई चोकको पार्कमा,
खजुरको बोटमुनी, यस्सो ओतलाग्दै
भुइँमा बसेर,
हामी भुइँ मान्छेका कविता लेखौं,
आउनुस् न दाजै यसपालि एउटा रंगहीन कविता लेखौं ।

त्यो कविता,
हामीले अघिल्लो हप्तामात्र ओढेको पहेंलो हरियो सेतो रातो निलो खादा जस्तो रंगीचंगी नहोस् !
त्यो कविता,
एअरपोर्टको ट्याक्सी भाडा मिनाहामा जनही पठाइने पचास ग्राम सुनको बिस्कुट जस्तो पहेंलो रंगको नहोस् !
त्यो कविता,
आफ्नो अनुकूलतामा परिवर्तन गरिने हुण्डीको कालो र सेतो परिभाषाको रंग भन्दा अलि फरक होस् ।
उदाहरणको लागि मानौंन ,
बेलटारबाट झरेका बेल बहादुर दाइले
बुर्ज खलिफा मुनिको सडक मर्मत गर्दैगर्दा ,
छ्याइ.....छ्याइ.... बजेका बेल्चाको आवाजसँगै
तर्तरी झरेका पसिनाको रंग कस्तो हुन्छ ?
हो,त्यस्तै रंगको कविता लेखौं !
आउनुस् न दाजै यसपालि एउटा रंगहीन कविता लेखौं ।

त्यो कविता,
पर्सि तीजमा संस्कृति जोगाउन बोलाइएकी ज्योति मगरले हामीलाई प्रदर्शन गराइदिने दुई तिहाइ नग्न स्तन र साँप्राको जस्तो निख्खर सेतो पनि नहोस् !
त्यो कविता,
कुनै अमुक संस्था या व्यक्तिको स्तुतिगान लेखिदिए बापत अघिल्लो झुम्माको रात
तारे होटलमा हामीले पिएको
रातो सेतो पहेंलो मदिराको गिलासको रंग भन्दा अलि फरक होस् ,
उदाहरणको लागि मानौंन,
रस अल खेमाको ऊ प~~~ र देहातमा खदामा काम गर्ने खाँदबारीकि खिल कुमारीले
वर्षौं पछि आफ्नो गाउँले भाइलाई
अल गुवावा मेट्रो स्टेसनमा भेटेर
सेलरोटी र आलुको अचार खुवाउन पाएको असीम आनन्दमा उनको मुहारको कान्तिको रंग कस्तो हुन्छ ?
हो,
त्यस्तै रंगको कविता लेखौं,
आउनुस् न दाजै यसपालि एउटा रंगहीन कविता लेखौं ।

लेख्न त
विगत चार वर्षदेखि घर जान नपाएका
काभ्रेका कर्ण बहादुर,
जो अलिहारको मजरामा भेडालाई घाँस हाल्दै गर्दा दुई दिरामको डाटामा
पिसिफोन एक्टिभ गरेर
म्यासेन्जरमा आमाको अन्तिम धुकधुकी सँगैको
लरबरिएको स्वर सुनिरहँदा पनि छुट्टी नमिलेको मनोदशामा उनको आँखाको किनारामा छचल्किएका आँसुका रंग जस्तै कविता पनि लेख्नुथियो,
भैगो,
यसलाई तपसिलकै विषय मानौंला !
तर एकपल्ट,
दशकौं यतै बिताएर
पोहोर साल मात्रै अब आफ्नै देशमा बस्छु भनेर फर्केका
चितवनका चित्र प्रसाद,
देशको अवस्थाले आजित भएर
फेरि कान्तिपुरको बिज्ञापन हेर्दै
फेरि म्यानपावरको लाइनमा ठेलमठेल गर्दै ,
फेरि एअर अरेबियाबाट हिजो मात्रै झरेर
झोला बिसाउँदै खुइय्य !! गरेर ,
किन जानू कान्छा नेपाल ?के छ र त्यहाँ ?
म त हातगोडा चलुन्जेल यतै बस्छु भन्दै गर्दा
उनको अभिव्यक्तिमा पोखिएको
त्यो पीडाको रंग कस्तो हुन्छ ?
त्यो नैराश्यताको रंग कस्तो हुन्छ ?
त्यो सुस्केराको रंग कस्तो हुन्छ ?
त्यो उदासिनताको रंग कस्तो हुन्छ ?
हो,
ठ्याक्कै त्यस्तै रंगको कविता लेखौं ,
आउनुस् न दाजै यसपालि एउटा रंगहीन कविता लेखौं

एकपटक,
मात्र एकपटक !
आक्रोश,अहम्,आफ्नोपन,आत्मरती,अभिलाषा,आशक्ती,आग्रह र आशीर्वाद बिर्सेर !
कुण्ठा,किर्तन,कृपा र किचलोको कुरा नगरीकन!
लालच, लाञ्छना र लोकाचारलाई लत्याएर
तल हामीले टेकेको धर्ती भन्दा
एक इन्च माथिदेखि ,
माथि हाम्रो आँखाले देख्ने आकाश भन्दा
एक इन्च तलसम्मको शुन्यतामा
कस्तो रंग देखिन्छ ?
हो,
त्यस्तै रंगको कविता लेखौं,
आउनुस् न दाजै यसपालि एउटा रंगहीन कविता लेखौं ।।

(ट्यागको लागी माफी चाहें ?😊)
--जे.सागर


गजल

. कथाले मागे पछि

टुच्च हल्का लिनै पर्छ कथाले मागे पछि
धाक धक्कू दिनै पर्छ कथाले मागे पछि

यो बनेको छ  जल झैं न कि पत्थर यसकारण
आँसुले पोखिनै पर्छ कथाले मागे पछि

'के चलायो भने गन्ध' भनेको थाहै छ
ए! हजुर तर्किनै पर्छ कथाले मागे पछि

माथि झन माथि सर्दैछ सिमाना झैं जामा
हेर्न मन हौसिनै पर्छ कथाले मागे पछि

मौनताले समाधान भए पो चुप बस्नु
प्रश्न चैं सोधिनै पर्छ कथाले मागे पछि

टक गुरूगं
यु ए ई