आउनुस् न दाजै,
यसपालि एउटा रंगहीन कविता लेखौं,
कति लेख्नु राता मान्छेका कथा !
कति लेख्नु सेता मान्छेका कथा !
फलानो ट्राभल्स र रेष्टुरेन्टको प्रायोजनमा
अघोषित जय नेपाल र लाल सलामको मुठ्ठीभित्र च्यापिएर !
कति लेख्नु प्रायोजित कविता !
आउनुस् यसपालि ,
एभरेस्ट होटलको डबलीमा नचढिकन,
इम्पेरियल स्विट होटलको आठौं तलामा नउक्लिकन,
बर दुबई चोकको पार्कमा,
खजुरको बोटमुनी, यस्सो ओतलाग्दै
भुइँमा बसेर,
हामी भुइँ मान्छेका कविता लेखौं,
आउनुस् न दाजै यसपालि एउटा रंगहीन कविता लेखौं ।
त्यो कविता,
हामीले अघिल्लो हप्तामात्र ओढेको पहेंलो हरियो सेतो रातो निलो खादा जस्तो रंगीचंगी नहोस् !
त्यो कविता,
एअरपोर्टको ट्याक्सी भाडा मिनाहामा जनही पठाइने पचास ग्राम सुनको बिस्कुट जस्तो पहेंलो रंगको नहोस् !
त्यो कविता,
आफ्नो अनुकूलतामा परिवर्तन गरिने हुण्डीको कालो र सेतो परिभाषाको रंग भन्दा अलि फरक होस् ।
उदाहरणको लागि मानौंन ,
बेलटारबाट झरेका बेल बहादुर दाइले
बुर्ज खलिफा मुनिको सडक मर्मत गर्दैगर्दा ,
छ्याइ.....छ्याइ.... बजेका बेल्चाको आवाजसँगै
तर्तरी झरेका पसिनाको रंग कस्तो हुन्छ ?
हो,त्यस्तै रंगको कविता लेखौं !
आउनुस् न दाजै यसपालि एउटा रंगहीन कविता लेखौं ।
त्यो कविता,
पर्सि तीजमा संस्कृति जोगाउन बोलाइएकी ज्योति मगरले हामीलाई प्रदर्शन गराइदिने दुई तिहाइ नग्न स्तन र साँप्राको जस्तो निख्खर सेतो पनि नहोस् !
त्यो कविता,
कुनै अमुक संस्था या व्यक्तिको स्तुतिगान लेखिदिए बापत अघिल्लो झुम्माको रात
तारे होटलमा हामीले पिएको
रातो सेतो पहेंलो मदिराको गिलासको रंग भन्दा अलि फरक होस् ,
उदाहरणको लागि मानौंन,
रस अल खेमाको ऊ प~~~ र देहातमा खदामा काम गर्ने खाँदबारीकि खिल कुमारीले
वर्षौं पछि आफ्नो गाउँले भाइलाई
अल गुवावा मेट्रो स्टेसनमा भेटेर
सेलरोटी र आलुको अचार खुवाउन पाएको असीम आनन्दमा उनको मुहारको कान्तिको रंग कस्तो हुन्छ ?
हो,
त्यस्तै रंगको कविता लेखौं,
आउनुस् न दाजै यसपालि एउटा रंगहीन कविता लेखौं ।
लेख्न त
विगत चार वर्षदेखि घर जान नपाएका
काभ्रेका कर्ण बहादुर,
जो अलिहारको मजरामा भेडालाई घाँस हाल्दै गर्दा दुई दिरामको डाटामा
पिसिफोन एक्टिभ गरेर
म्यासेन्जरमा आमाको अन्तिम धुकधुकी सँगैको
लरबरिएको स्वर सुनिरहँदा पनि छुट्टी नमिलेको मनोदशामा उनको आँखाको किनारामा छचल्किएका आँसुका रंग जस्तै कविता पनि लेख्नुथियो,
भैगो,
यसलाई तपसिलकै विषय मानौंला !
तर एकपल्ट,
दशकौं यतै बिताएर
पोहोर साल मात्रै अब आफ्नै देशमा बस्छु भनेर फर्केका
चितवनका चित्र प्रसाद,
देशको अवस्थाले आजित भएर
फेरि कान्तिपुरको बिज्ञापन हेर्दै
फेरि म्यानपावरको लाइनमा ठेलमठेल गर्दै ,
फेरि एअर अरेबियाबाट हिजो मात्रै झरेर
झोला बिसाउँदै खुइय्य !! गरेर ,
किन जानू कान्छा नेपाल ?के छ र त्यहाँ ?
म त हातगोडा चलुन्जेल यतै बस्छु भन्दै गर्दा
उनको अभिव्यक्तिमा पोखिएको
त्यो पीडाको रंग कस्तो हुन्छ ?
त्यो नैराश्यताको रंग कस्तो हुन्छ ?
त्यो सुस्केराको रंग कस्तो हुन्छ ?
त्यो उदासिनताको रंग कस्तो हुन्छ ?
हो,
ठ्याक्कै त्यस्तै रंगको कविता लेखौं ,
आउनुस् न दाजै यसपालि एउटा रंगहीन कविता लेखौं
एकपटक,
मात्र एकपटक !
आक्रोश,अहम्,आफ्नोपन,आत्मरती,अभिलाषा,आशक्ती,आग्रह र आशीर्वाद बिर्सेर !
कुण्ठा,किर्तन,कृपा र किचलोको कुरा नगरीकन!
लालच, लाञ्छना र लोकाचारलाई लत्याएर
तल हामीले टेकेको धर्ती भन्दा
एक इन्च माथिदेखि ,
माथि हाम्रो आँखाले देख्ने आकाश भन्दा
एक इन्च तलसम्मको शुन्यतामा
कस्तो रंग देखिन्छ ?
हो,
त्यस्तै रंगको कविता लेखौं,
आउनुस् न दाजै यसपालि एउटा रंगहीन कविता लेखौं ।।
(ट्यागको लागी माफी चाहें ?😊)
--जे.सागर
Subscribe to:
Post Comments (Atom)
-
कमरेड प्रचण्ड अभिवादन ! तपाईं गणतन्त्र नेपालकाे प्रथम जननिर्वाचित प्रधानमन्त्री भएकाे समयमा म क्यान्सर अस्पतालकाे सञ्चालक समितिकाे सद...
-
"दुबईमा दुखेकाे मेराे देश" =-=-=-=-=-=-=-=-=-=-= (कथा:-अबिरल यात्री) डिसेम्बरकाे एक चिसाे बिहान, तलतिर खसेकाे १ बुँद ...
-
१. दुधको साथमा घ्यु अन्डा,रुखकटहर,कोदाको ढिंडो र फापरको ढिडो खानु हुदैन । २. माछा र सक्खर सँगै खान हुदैन यसले पित्त विगार्छ । ३. पर...
No comments:
Post a Comment