रुपसी का कबिता



गाउँ पछ्याएको लामो दुरीको यात्रा
सकिए झैँ लाग्यो वा सकियो?
गाउँ, गाउँ छोडेर सहर पुग्न तोकिएको मूल्य
छिरेपछि राजधानीको अग्लो आकाशे पुलमुनि

छुटे लामो यात्राका एक हुल बेदिल शहरहरू
पुलमुनिबाटै लस्करका लस्कर ऐना बोकेर
खै! कति थियो तिनीहरूको यात्राको मूल्य!

स्वखलित लिङ्ग जस्तो
ठिक उँधो मुन्टो झुन्डिँदा घण्टा घरको मोटो सुई
उही घण्टा सुईले लखेटेको अँध्यारो साँझले
पुलमाथि उक्लेर नियाली रहेको छ
राता लिपिस्टिकहरूको चमक,
बढिरहेको अँध्यारोले नापिरहेको छ
कालो टाइट पाइन्टहरूको चञ्चले आकार।

कलंकी पनि नजाने यात्रुहरू
न जान चाहान्छन् चावाहिल र बसुन्धारा
केवल छिप्पीरहेको कालो रातको मूल्य घटबढ गरिरहन्छन्
पुलमुनि ओहोर दोहोर गर्दै।

यो राधानीको आकाशे पुल
आफैमाथि खप्टिएको रातको मूल्यमा ल्याप्चे लगाउँछ
खोजी-खोजी मेडिकलमा फेल भएको कागज
खण्ड-खण्ड हिसाब लगाएर टुक्राउन चाहान्छ
अखण्ड नेपाल जिन्दावाद लेखिएको नारातिर फर्केर
एक घण्टा रात- तीन सय
चार घण्टा रात- आठ सय
पूरै आठ घण्टा रातलाई चार हजारमा बेच्न चाहान्छ
तर,
 किन्न चाहनेले पूरै मूल्य तिरेर पनि
हेरिरहेछ एकनास बेच्ने वालाले मुहार।

बेच्नेहरू किन सीमा काट्दा हुन्?
बेचिन काफी छ
राजधानी कै अग्लो आकाशे पुल।

यहाँ हरेक रातहरू बिक्रीमा रहेछन्
हरेक रातहरूको मूल्य तोकिएको रहेछ
हुन त
मंसिरका मण्डपे रातहरू पनि त दाइजोमा बेचिएको छ
मंसिरे कान्छी रातहरूमा
तोकिएको छ कार,बाइक, दराज र सुन-चाँदी
फरक
दाइजोमा कण्डम नदिइँदो रहेछ
यो पुल महँगो रातहरूको मूल्य तिरेपछि
किनिरहेछ मेरो गाउँमा सित्तैमा पाइने कण्डम।

रूपसी

No comments: